सुशासनको उज्यालो पाटो
विश्व भ्रष्टाचार र्याङकिङमा नेपाल सन् २०११ मा १ सय ५४ औं स्थानमा थियो। त्यो कालो चरित्र क्रमशः उजिल्याउँदै २०२० मा आइपुग्दा १ सय १७ मा आइपुगेको छ। राजनीतिक संक्रमणबाट गुज्रिइरहेको देशमा मौलाएको भ्रष्टाचार घटेको देखिनु आफैंमा सकारात्मक हो।
आइरिस चर्चित गायक एवं लेखक बोनोले भनेका छन्, ‘संसारको सबैभन्दा घातक रोग भ्रष्टाचार हो। र, जसको औषधि हो : पारदर्शिता।’
हामी चाहन्छौं– देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय होऊन्। तर, तिनले काम नपाऊन्। अर्थात्, अख्तियार दुरुपयोग गर्ने कोही नभेटिऊन्।
त्यो अवस्था तब सम्भव हुन्छ, जब बोनोले भनेझैं पारदर्शिता अवलम्बन हुन्छ। नेपालको संविधानले सूचनाको हक प्रत्याभूत गरेको छ। तर, सार्वजनिक निकायका महŒवपूर्ण सूचनाबाट नागरिक वञ्चित छन्। कारण हो– जब सूचना दिइन्छ, पारदर्शिता हुन्छ। जब पारदर्शी होइन्छ, भ्रष्टाचार उजागर हुन्छ।
दियो बालेर सरकारी तथ्य खोतल्नुपर्ने बाध्यताबीच हामीले यसपालि नितान्त फरक विशेषांक तयार गरेका छौं। राज्यको अग्रसरतामा केही यस्ता काम भएका छन्, जसले देशलाई अग्रगमनमा लैजान मद्दत पुर्याउँछन्। ती सुन्दर, सुनौला र उज्याला कर्म यसपालि अख्तियार दिवसका लागि हाम्रा कोसेली बनेका छन्।
विश्व भ्रष्टाचार र्याङकिङमा नेपाल सन् २०११ मा १ सय ५४ औं स्थानमा थियो। त्यो कालो चरित्र क्रमशः उजिल्याउँदै २०२० मा आइपुग्दा १ सय १७ मा आइपुगेको छ। राजनीतिक संक्रमणबाट गुज्रिइरहेको देशमा मौलाएको भ्रष्टाचार घटेको देखिनु आफैंमा सकारात्मक हो।
हुन पनि २०४६ को परिवर्तनपछि छिटो–छिटो सरकार बदलिए। चुनाव लड्न गरिएको खर्च उठाउन राज्यकोषकै ब्रह्मलुट चल्यो। पजेरोदेखि सांसद् किनबेचका काण्ड चले। कर्मचारीतन्त्र नियन्त्रणमुखी होइन, राजनीतिक क्षेत्रलाई प्रेरित गर्न उद्दत देखियो।
त्यति हुँदाहुँदै पनि ‘कालो बादलमा चाँदीको घेरा’ नभएको होइन। राज्यले फिटिक्कै नगरेको भन्न मिल्दैन। त्यस्ता केही उदाहरण यस विशेषांकका सामग्री बनेका छन्।
कुनै काल यस्तो थियो, हर्न बजाएन भने कसैले बाटै छोड्दैनथियो। आफू हतारिएर अगाडि बढ्न चालकले पनि तर्साउने गरी हर्न बजाउने अस्त्र प्रयोग गर्थे। जब सरकारले ‘हर्न निषेध’ अभियान चलायो, नबजाए पनि हुने रहेछ त ! अहिले सडकभरि गाडी हुन्छन्, कानै फुटाउने हर्नको कर्कस ध्वनि कतै सुनिँदैन।
मापसे अर्को उदाहरण हो। प्रहरीले चाह्यो भने रक्सी पिएर सवारी चलाउन रोक्न सक्ने रहेछ भन्ने यसले चरितार्थ गराएको छ। फराकिला सडक कुनै दिन हाम्रा कल्पनामा मात्र थिए। लोडसेडिङ मुक्त नेपाल त कल्पनामा पनि थिएन। यी उपलब्धि हामीले पाउँदै गएका छौं।
कुशासनका कथा धेरै लेख्यौं हामीले। धेरै पढ्यौं। अब आऔं, निराशा होइन, आशा बाँडौं। खुसीका खबर पनि छापौं। ताकि, व्यक्ति–व्यक्तिले तिनको अनुकरण गर्न सकून्। भ्रष्टाचार शून्य होस्। र, न्युजिल्यान्ड, डेनमार्कजस्तो भ्रष्टाचार सुन्नै नसक्ने देश बनोस्।
बिगार्ने हामी हो। बनाउने पनि हामी। हामीले चाह्यौं भने त्यो दिन टाढा छैन। यो विशेषांकको एउटा ध्येय त्यो पनि हो। अत्यन्त धेरै भ्रष्टाचार हुने भनिएका सार्वजनिक कार्यालयमा सरुवा भएर जानेको आकर्षण घट्दो छ। कारण– ती निकायप्रति आमधारणा गलत छ। त्यहाँ भ्रष्टाचार खोजबिन गर्ने निकायको आँखाको तारो होइन्छ। त्यही कारण ती निकाय आफैं सुध्रिँदै गएका उदाहरणसमेत छन्।
भ्रष्टाचारका दुई पक्ष हुन्छन्– खाने र खुवाउने। खुवाउने पक्ष शिक्षा, चेतना र प्रविधिले मजबुत हुँदै गएको छ। तस्बिर र आवाज रेकर्ड गर्ने अति साना उपकरण आइसकेका छन्। हरेकको साथमा मोबाइल हुन्छ। हाकाहाकी घुस माग्न त्यति सजिलो छैन अब।
एउटा औंलामा ठेस लाग्यो भने त्यसमै ठोक्किइरहेको अनुभूत हुन्छ। ठोक्किन त सबैमा ठोक्किन्छ। ठेस लागे ठाउँमा ठोक्किँदा दुख्छ र थाहा हुन्छ। भ्रष्टाचार पनि निश्चित औंलामा ठेस लागेझैं हो। तर, छुसछुस त्यहीं ठोक्किएर खुट्टा दुखिइरहन्छ। अन्ततः शरीरै रोगी हुन पुग्छ। घाउ बिग्रियो भने औंला कुहुन्छ। क्यान्सर भयो भने विस्तारै शरीरै सकिन्छ। त्यसैले ठेस लागे ठाउँमा बेलैमा उपचार गर्नुपर्छ।
हामीले यसपालि ठेस नलागेका औंला पहिचानको प्रयास गरेका छौं। आशा छ, यसले हाम्रो शरीर स्वस्थ पनि छ भन्ने सन्देश प्रवाह गर्नेछ।