सेवा सुविधाको रकम समाज सेवामा
मुगु : छाँयानाथ रारा नगरपालिका-४ का वडाध्यक्षले नगरसभाको बैठक तथा अन्य तालिम गोष्ठीबाट उपलब्ध रकम समाज सेवामा लगाउँदै आएका छन्।
छाँयानाथ रारा नगरपालिका-४ का वडाध्यक्ष ३२ वर्षीय विष्णुकुमार भामले नगरपालिकाको नगर परिषद् र अन्य तालिम तथा बैठकबाट आउने भत्ता जम्मा गरेर बालबालिकाको पढाई र सार्वजनिक काममा खर्च गर्ने गरेका छन्।
उनले मासिक पाउने सेवा सुविधाबाट वडा नम्बर ६ का दलित समुदायका लागि खाद्यान्न र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका थिए। गत वर्ष उनले चैना भीरमा सार्वजनिक शौचालय निर्माण गरेका भामले यस वर्ष २८ हजार लागतमा रेडक्रसको कार्यालय अगाडि अर्को सार्वजनिक शौचालय निर्माण गरेका छन्।
नगर परिषद्को चार बैठकबाट जम्मा गरेको २८ हजार रकमले रेकक्रस अगाडि सार्वजनिक शौचालय र अन्य बैठक तथा तालिमबाट उपलब्ध रकमले आधारभुत प्राथमिक विद्यालय बालमन्दिर चैनामा अध्ययरत ११ जना दृष्टिविहीन बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरेका छन्।
नगरपालिकाभित्रका १४ वडामा रहेका दलित बस्तीका प्रत्येक घरधूरीलाई आफ्नो मासिक सेवा सुविधाबाट उपलब्ध हुने रकमले सहयोग गर्ने प्रतिबद्धता गरेका भामले पहिलो चरणमा ६ वडाका दुई दर्जनभन्दा बढी दलित बस्तीमा सहयोग गरिरहेका छन्। वडाका अन्य बस्तीमा पनि आफ्नो सहयोग निरन्तर रहने उनले बताए।
बैठक भत्ता र सेवा सुविधाबाट आएको रकमले समाजमा लगानी गर्नु भनेको अन्य जनप्रतिनधिहरुका लागि सिकाइ हो। वडाध्यक्ष भामले गरेको सामजिक काम उल्लेखनिय रहेको नागरिक समाजका अगुवा रुपबहादुर मल्लले बताए।