पूर्वाधारले फेरिएको रुपन्देही

पूर्वाधारले फेरिएको रुपन्देही

बुटवल : सात वर्षअघिसम्म बुटवल–भैरहवाको २१ किलोमिटर सडक पार गर्न करिब एक घण्टा लाग्थ्यो। साँघुरो भत्किएको सडक, धुलोको सास्ती। मणिग्रामको चोकमै घर भएका ७६ वर्षीया लीलामणि शर्मालाई यो सडक यति छिटै फेरिएला भन्ने कल्पनै थिएन। अहिले यो बाटो छोटिएको छ। बढीमा २० मिनेटमा बुटवल–भैरहवा गर्न सकिन्छ। 

छ लेनको सडक। बीचमा डिभाइडर। डिभाइडरमा झिलिमिली बत्ती र फूलहरू। सडक छेउमा हरियाली। रंगीचंगी फूलले सडकको दृश्य नै मनमोहक बनेको छ। ‘काम गर्ने हो भने त राम्रै बन्ने रहेछ, शर्मा भन्छन, ‘सडक राम्रो बन्दा गाउँसहर नै झलमल्ल बलेजस्तै देखिने।’

यो सडकलाई २०६८ सालमा छ लेनमा विस्तार गर्न सुरु गरिएको हो। बुटवल–बेलहिया व्यापारिक मार्ग नाम दिइएको सडकले यस क्षेत्रको पहिचान नै फेरिएको छ। भारतीय सीमादेखि बुटवलको दूरी ३० मिनेटमा सीमित बनेको छ। यो सडक देख्नेहरू अहिले अचम्मित हुन्छन्।

‘विकास हेर्न त रुपन्देही आउनुपर्ने रहेछ’, केही दिनअघि भैरहवा हुँदै बुटवल आएका संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले भने, ‘यति धेरै परिवर्तन भइसकेछ। देश विकास भइरहेको छ भन्ने यहीँ देखिन्छ।’ मन्त्री ढकाल विमानस्थलबाट लुम्बिनी पुगे। सो सडक देखेर उनी आश्चर्यमा थिए।

बुटवल–बेलहिया सडकजस्तै भैरहवा–लुम्बिनी सडकको मुहार फेरिएको छ। थोत्रा गाडी, मालवाहक ट्रक र भत्किएको सडकले लुम्बिनी आउने पर्यटक नाक खुम्च्याउँथे। अब त्यस्तो हुनेछैन। भैरहवादेखि लुम्बिनी हँुदै तिलौराकोटसम्मको सडक चार लेनमा विस्तार भइसकेको छ। लुम्बिनीसम्मको सडकको काम सकिने चरणमा छ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी भन्छन्, ‘यी सडक पूरा भएपछि पर्यटकीय क्षेत्रको मुहार फेरिनेछ। प्रदेश सरकारले पनि विकासमा निगरानी गर्दै आएको छ।’

यी दुई सडकबाहेक रुपन्देहीका ग्रामीण क्षेत्रसमेत गुल्जार गर्ने गरी निर्माण भएका र भइरहेका आधा दर्जन सडक छन्। केही अन्तिम चरणमा पुगेका छन्, केही भर्खर शिलान्यास गरिएको छ। अर्थमन्त्री एवं रुपन्देहीका सांसद विष्णु पौडेलले छ लेन सडकको बुटवल खण्ड केही दिनअघि मात्रै शिलान्यास गरे। अतिक्रमित क्षेत्र खाली नहँुदा यसको निर्माण रोकिएको थियो। मन्त्री पौडेलले सडकप्रति चासो दिँदै भने, ‘यो सडक बुटवलको अनुहार हो। अब दु्रत गतिमा निर्माण सक्नुको विकल्प छैन। यी सडकसँगै सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गको बुटवल–धानखोला सडक विस्तारका काम हुनेछन्।’

रुपन्देहीमा सडकसहितका पूर्वाधार निर्माणका लागि १ खर्बको हाराहारीमा बजेट खर्च भइरहेको छ। भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनी विकास कोषको गुरुयोजनाका बाँकी काम र ५ हजार क्षमताको सभाहल, बुटवल–बेलहिया सडक, लुम्बिनी–भैरहवा सडक, बेलवास–बेथरी सडक अन्तिम चरणमा पुगेका छन्। बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मुलुककै ठूलो सभाहल हो। १ अर्ब २ करोडको यो आयोजनाको आधाभन्दा धेरै काम सकिएको छ। सभाहलसँगै स्थायी प्रदर्शनी स्थलसमेत निर्माण भइरहेको छ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई चारैतिरबाट सडक पहुँचमा पुर्‍याउन बुद्ध सर्किटको काम सकिएको छ। अब पश्चिमबाट आउनेहरू तिलौराकोट र रामापुर हँुदै लुम्बिनी पुग्नेछन्। पूर्वबाट हुलाकी सडक हुँदै लुम्बिनी पुग्ने स्तरीय सडक निर्माण भएका छन्। यसले रुपन्देहीका गाउँ फेरिएका छन्। कृषि उपज सहजै बजार लान सकिएको छ। किसानहरू साइकलमै बुटवल र भैरहवाका हाटबजारमा कृषि उपज बोकेर पुग्न सक्छन्। ‘बाटो पिच भएपछि त सजिलो भयो’, सूर्यपुरा चोकका रामनरेश कुर्मीले भने। उनले २ बिघामा तरकारी खेती गरेका छन्।
थपिँदै नमुना पूर्वाधार

बुटवल नदी छेउको सहर हो। यस्ता सहरलाई नदी सभ्यतामा विकसित सहरका रूपमा उभ्याउन सकिन्छ। बुटवलमा सो योजना थालनी भएको छ। दोस्रो पटक अर्थमन्त्री बनेलगत्तै विष्णु पौडेलले तिनाउ–दानव करिडोर शिलान्यास गरेका छन्। यो महत्वाकांक्षी सडक भए पनि निर्माण सकिँदा रुपन्देहीकै स्वरूप फेरिनेछ। 

तिनाउ र दानव नदी उकास क्षेत्रमा दुवै साइडमा बन्ने यो सडक भैरहवा–लुम्बिनी सडकमा जोडिनेछ। यसलाई भारतीय सीमासम्मै पुर्‍याउने दीर्घकालीन लक्ष्य रहेको छ। छ लेनको यो सडकले रुपन्देहीका ग्रामीण क्षेत्रमा स्तरीय सडकको पहुँच पुग्नेछ भने तिनाउ नदीको सौन्दर्यसमेत बढाउनेछ। तिनाउ नदीमाथि आर्क ब्रिज बनाउने योजनामाथि समेत छलफल भइरहेको छ। ड्याम बनाएर बोटिङ गराउने योजनासमेत छ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कोरिडोर सडकले रुपन्देहीका आधाभन्दा धेरै स्थानीय तहको विकास हुने बताउँछन्। नदी व्यवस्थापनदेखि नदीलाई नै पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने सम्भावनासहित यो सडक निर्माण थालिएको हो।
अर्काे नमुना सडक बेलबास–बेथरी सडक हो। साढे १ अर्बको लागतमा बनिरहेको यो सडक भैरहवा विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने सजिलो रुट हो। बीचमा नहर, वारिपारि दुई लेनको सडक हुनेछ। नहरमा डुंगा चलाउन मिल्ने र नहरमाथि फूलको बगैंचा बन्नेछ। प्रदेश सरकारमातहत यो सडक बनिरहेको हो। 

अबको आर्थिक केन्द्र
भैरहवा विमानस्थल निर्माणपछि समग्र लुम्बिनी क्षेत्र नै पर्यटकीय नगरका रूपमा विकास हुनेछ। प्रदेश सरकारले त्यसकै आधारमा यो क्षेत्रलाई आर्थिक राजधानीका रूपमा स्थापित गर्ने योजना बनाएको छ। भैरहवामा सीधै अन्तर्राष्ट्रिय उडानहरू हुनेछन्। करिब ९२ प्रतिशत काम सकिएको विमानस्थलमा ठूला जहाज आउन अब धेरै समय लाग्नेछैन।

मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया हो। निर्यातजन्य उद्योग स्थापनाका लागि बनिरहेको विशेष आर्थिक क्षेत्र सेज भैरहवामै छ। यहाँका उद्योगले उत्पादित सामग्री निर्यात गर्न थालिसकेका छन्। मुलुकको करिब ४० प्रतिशत सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग र त्यसभन्दा धेरै क्लिंकर उत्पादनका कारखानासमेत यही क्षेत्रमा रहेका छन्। 

कृषि उत्पादनको बिक्री केन्द्र रुपन्देहीको सैनामैना र बुटवलमा बन्दै छ। ८ अर्ब लागतको यो योजनाले ४० बिघा क्षेत्रफल ओगटेको छ। सरकारले ४ अर्ब र अरू विदेशी दातृ निकायको लगानी रहेको छ। लुम्बिनी क्षेत्रमा उत्पादित कृषि उपजलाई देशभर र बाहिरसमेत निर्यात गर्ने योजना रहेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी बताउँछन्। ‘यसले रुपन्देहीलाई नै आर्थिक केन्द्रका रूपमा विकास गर्नेछ, बहुवर्षीय योजना बनाएर निर्माण हुन्छ’, उनले भने।

बुटवलमा बनिरहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलले आर्थिक चलायमान गराउने विश्वास छ। बुटवल मण्डपमा १ अर्बको लागतमा सभाहल र प्रदर्शनी केन्द्र बनिरहेका छन्। छ र चार लेनमा विस्तार भइरहेको महेन्द्र राजमार्गको छेउमै यी संरचना बनिरहेका हुन्।

शिक्षा र स्वास्थ्य पूर्वाधारमा काम
सडक पूर्वाधारमा अर्थमन्त्री पौडेलले नै बढी चासो दिएका हुन्। उनले गत वर्ष संसद् विकास कोषको पूरै १० करोड रुपैयाँ शिक्षा पूर्वाधारमा खर्च गरेर शिक्षा विकासमा ध्यान मोडेका छन्। यो वर्षको पूरै चार करोड स्वास्थ्य क्षेत्रमा छुट्याएका छन्। बुटवललाई विकासमा नमुना बनाउने र विकास हेर्नका लागि रुपन्देही जानुपर्छ भन्ने योजनासहित पौडेलले शिक्षा र स्वास्थ्यतर्फ बजेट विनियोजन गरेका हुन्।

रुपन्देहीको देवदहमा सय बिघा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार बन्दै छ। विश्वविद्यालयले चालु शैक्षिक सत्रमै कृषि तथा वन, वातावरण र डेभलपमेन्टका विषय सुरु गरेको छ। ‘सय बिघा क्षेत्रलाई तपोवनका रूपमा विकास गरेर बौद्ध विश्वविद्यालयका कक्षाहरू सञ्चालन हुनेछन्’, विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले भने। विश्वविद्यालयले बुटवलको नयाँ गाउँमा डिन कार्यालयसहितको आंगिक क्याम्पसका लागि पूर्वाधार तयार गर्दै छ।

बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति गरी ठूला भवन निर्माण भइरहेका छन्। प्रदेश सरकारले यसलाई गौरवको योजनामा राखेर काम गर्ने जनाइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बुटवल मेडिकल कलेजको काम भइरहेको छ। रुपन्देहीको तिलोत्तमामा बन्ने यो सरकारी मेडिकल कलेज हो। मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ। यी योजना सम्पन्न हुँदा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र आर्थिक चलायमानमा रुपन्देही मुलुककै ठूलो केन्द्र बन्ने विश्वास गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.