मध्यपुर थिमि नपा- २ कै महत्वाकांक्षी योजना सुरु

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ को महत्वाकांक्षी योजना अघि बढेको छ। वडाकै सबैभन्दा ठूलो ढल व्यवस्थापनसम्बन्धी योजना अघि बढेको हो। वडा कार्यालयबाट पुरानो नालान्द स्कूल जाने बाटोको स्तरोन्नति र ढल निर्माण कार्य अघि बढेको वडा अध्यक्ष राम थापामगरले जानकारी दिए।
उनका अनुसार उक्त योजनाको लागि ४९ लाख ९९ हजार ७ सय २१ रुपैयाँको लगत इस्टिमेट गरिएको छ। जसमध्ये ३९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकाले व्यहोर्ने उनी बताउँछन्। उनकाअनुसार स्थानीय उपभोक्ताहरुले भने ९ लाख ९९ हजार ९ सय ४४ रुपैयाँको योगदान गर्नुपर्ने छ। नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर नआउँदै उक्त योजना अघि बढाउन खोजिएको थियो। जसअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले बजेट विनियोजनसमेत गरेको वडा अध्यक्ष थापामगर बताउँछन्। तर बाटो खोल्ने तथा सीमाङ्कनमै विवाद भएपछि काम पूरा हुन नसकेको उनको भनाइ थियो।
‘काठमाडौं उपत्यका विकास प्राधिकरणले बजेट विनियोजन गरे पनि काम गर्न सकेन’, उनले भने, ‘बाटो खोल्ने तथा सीमाङ्कनमै स्थानीयबीच विवाद भयो। केही काम हुन सकेन।’तर अहिले सबै स्थानीयको सहमति लिएर बाटो खोल्ने तथा ढल हाल्ने कार्य अघि बढेको उनले स्पष्ट पारे। ‘करिब ५ सय मिटर बाटोमा ढल हालेसँगै सडक स्तरोन्नति गरेर कालोपत्रे गर्नेसम्मको योजना रहेको छ’, वडा अध्यक्ष थापामगरले भने।
सोमबार एक कार्यक्रमबीच उक्त सडक स्तरोन्नति तथा ढल राख्ने कार्यको सुभारम्भ गरिएको थियो। उक्त कार्यको उद्घाटन नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिका पूर्वसभापति एवं मध्यपुर थिमि नपाका मेयर उम्मेदवार अष्टकुमार कवे र मध्यपुर थिमि नपाकी उपमेयर अञ्जनादेवी मधिकर्मीले संयुक्त रुपमा गरेका थिए।
उक्त अवसरमा उनीहरुले विकास निर्माणमा स्थानीयले अवरोध गर्नेभन्दा सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीयलाई असुविधा हुने भए सुविधायुक्त बनाएर विकास निर्माणका योजना अघि बढाउनुपर्ने उनीहरुको धारणा थियो। उक्त क्षेत्रमा निरन्तर बस्ती विस्तार भइरहेको छ। नयाँ बस्ती विस्तारसँगै स्थानीयलाई मुख्य सडकसम्मको पहुँचमा समस्या भएको पीडितहरु वडावासीहरुले गुनासो पोखे।
बस्तीमा घर बढेसँगै ढल निकास नहुँदा बस्ती डुबानमा पर्ने तथा फोहर पानी व्यवस्थापनमा समस्या रहेको उनीहरुको भनाइ थियो। तर ढल निर्माण तथा सडकको स्तरोन्नतिले आफूहरुको समस्या समाधान हुने उनीहरुले विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !
