आफ्नैबाट असुरक्षा

आफ्नैबाट असुरक्षा

बलात्कारको पछिल्ला शृंखला हेर्दा समाजमा छोरी–चेली जोगाउन जति मुस्किल परेको छ, केही खराब पात्रका कारण पुरुषलाई पनि नाकमुखै देखाएर हिँड्न लाज मान्नुपर्ने अवस्था आएको छ। यस्ता कार्यमा आफन्त र चिनजानकै व्यक्ति संलग्न हुने गरेको डरलाग्दो अवस्था तथ्यांकले उजागर गरेको छ। यो अत्यासलाग्दो अवस्थाले नेपाली समाजमा खराब आचरण र चरित्रहिनताले सीमा नाघिसकेको स्पष्ट पारेको छ। जति कडा कानुनी प्रावधान बनाइए पनि नियन्त्रणभन्दा बाहिर रहेकाले बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न चेतनामूलक अभियानको अभाव रहेको स्पष्ट हुन्छ। शिक्षासँगै नैतिकता सिकाउन नसक्दाको परिणाम मानेर यस्ता घटना न्यूनीकरण गर्न सरकारी, गैरसरकारी संस्था र निजी क्षेत्रले समेत हातेमालो गर्नुपर्छ।

मौका मिलेमा जस्तोसुकै वर्ग र समुदायका मानिस पनि बलात्कार र हत्यामा उत्रने गरेको पछिल्ला अध्ययनहरूबाट स्पष्ट भइसकेको छ। समाजमा शिक्षित, बौद्धिक तथा अगुवा र आफन्तका साथै रगतको नाता भएका व्यक्तिसमेत यौन अपराधमा संलग्न हुने गरेका छन्। समाजमा छोरी–चेलीको संरक्षक मानिने, बुबा, दाइ, भाइ, मामा, छोरा, ससुरासमेत यौन अपराधमा उत्रने गरेका छन्। वास्तवमा जसले संरक्षण दिनुपर्ने हो सोही व्यक्ति चेलीको अस्मिता लुट्न उत्रनु लज्जास्पद हो। सबैभन्दा विश्वास गरिएका व्यक्ति नै यस्ता कुकृत्यमा संलग्न हुन थालेपछि हरेक परिवारका लागि आफ्ना छोरी, बुहारी, बहिनी, भान्जीलगायतको सुरक्षामा चुनौती थपिएको छ। कानुनले जस्तोसुकै कडा सजायको व्यवस्था गरे पनि घटना रोक्न नसकिएकाले हरेकले आफ्नो सुरक्षा आफैं गर्नु मुख्य उपाय हो। तुलनात्मक अध्ययन गर्दा राजनीतिक अस्थिरता रहेको तथा गरिबी र पछौटेपनले गाँजेको समाजमा यस्ता घटना बढी हुने गरेको पाइन्छ। चेतना स्तरको कमी, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन लागू नहुनुले पनि यस्ता घटना बढेका छन्। दोषी किटानी भइसक्दा पनि शक्तिको दुरुपयोग गर्दै कानुनी कारबाहीबाट उम्कने प्रवृत्ति बढ्नुले यस्ता घटनालाई प्रश्रय दिइरहेको छ।

बलात्कारी र यस्ता कार्यमा उक्साउनेलाई समेत कानुनले कडा कारबाहीको व्यवस्था गरेको छ। विद्यमान कानुनी संरचनामा परिमार्जन गरेर पछिल्लो पटक सरकारले बलात्कारको घटनामा दोषी ठहरिएकालाई उन्मुक्ति दिन उक्साउने र सहयोग गर्ने व्यक्तिलाई समेत कारबाहीको व्यवस्था गरेको छ। तर एक ठाउँको बलात्कारको घटना सेलाउन नपाउँदै अर्को ठाउँमा उस्तै प्रकृतिको घटना भइरहेको छ। जति कडा कानुनी प्रावधान ल्याइए पनि घटनामा कमी नआउनुले नागरिकमा नैतिक शिक्षाको अभाव रहेको स्पष्ट हुन्छ।

कहिलेकाहीँ रिस र आवेगलाई नियन्त्रण गर्न नसक्दा पनि यस्ता घटना भएका छन्। कतिपय घटनामा सुरुमा पीडित र पीडकबीच भावनात्मक सम्बन्ध विकास हुने, त्यसपछि खटपट बढ्ने र अन्तिममा बलात्कार भएको पनि देखिन्छ। अपरिचित व्यक्तिसँगको सम्बन्धबाट टाढा रहनु पनि यसबाट बच्ने एउटा उपाय हो। हाम्रो घरपरिवार र विद्यालयमा सुरक्षित कसरी हुने भन्ने सिकाइ हुँदैन। सकेसम्म यस्ता घटनामा प्रतिवाद गर्ने महिलाको आवाज नै दबाउन खोजिन्छ। एउटा महिला बलात्कृत भइन् र उनले आवाज उठाइन् भने उनलाई नै गलत मान्ने प्रवृत्ति छ। पीडितलाई न्याय पाइन्छ, घटना सार्वजनिक गरेकै कारण समाजले छि छि र दुरदुर गर्दैन र गरेको अवस्थामा राज्यबाट संरक्षण हुन्छ भन्ने विश्वस्त गराउन सक्नुपर्छ। पीडक खुलेर हिँड्ने तर पीडित लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ। खासगरी विद्यालय तहदेखि यौनशिक्षाको विषयवस्तुलाई समेट्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.