सिद्धार्थ राजमार्गमा यात्रुलाई सास्ती
स्याङ्जा : भालुपहाडको घुम्ती कटानको जिम्मेवारी पाएको ठेकेदार कम्पनीको ढिलाइका कारण सिद्धार्थ राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रु प्रभावित बनेका छन्। यहाँबाट गुड्ने सयौं सवारीसाधन र यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।
यस्तो समस्या ६ महिनायताको हो। बिरामी र अत्यावश्यक कामका यात्रु समयमा गन्तव्य पुग्न सक्दैनन्। बिहानको समयमा गर्न सकिने कामका लागि अघिल्लो दिन घरबाट निस्किनुपर्ने बाध्यता छ। हालै एलएलबीको परीक्षा दिन पोखरा हिँडेकी सीता
गैह्रेले भनिन् ‘भोलि बिहान ८ बजेदेखि परीक्षा हो। भालुपहाडको जामले परीक्षा दिन पाइँदैन कि भन्ने लाग्यो अनि आजै पोखरा बास बस्न हिँडें।’
राजमार्ग खुला हुँदा उनको पोखरा यात्रा डेढ घण्टाको हो। भालुपहाड कडा र कालाचट्टानसहितको ठूलो पहाड हो। पोखरा—सुनौलीअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग भएर गन्तव्यतर्फ जाने यात्रु सडक निर्माणका कारण घण्टौं जाममा फस्छन्। भालुपहाड पार गर्न यात्रुले ३ देखि ४ घण्टाअगावै गन्तव्यका लागि हिँड्नुपर्ने बाध्यता छ। सवारी र यात्रुको आवागमन सहज बनाउन स्थानीय प्रशासनले निर्देशन दिए पनि निर्देशन कार्यान्वयन भएको छैन।
प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत भन्छन्, ‘बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ सम्म सडक खुला गर्न र प्रत्येक एक/एक घण्टामा सडक खुलाउन भनिएको छ।’ स्याङ्जाको फेदीखोला गाउँपालिकामा पर्ने प्राकृतिक धरोहर भालुपहाडलाई विगत ६ महिनादेखि ठूला उपकरण प्रयोग गरेर भत्काइएको छ। ठूला मेसिनको प्रयोगले थर्किएको जमिने वर्षामा असर पर्ने भन्दै स्थानीय त्रासमा छन्। सडक फराकिलो बनाउने क्रममा निस्किएका ढुंगा, गिटी, बालुवा, माटोको व्यवस्थापन गर्न भन्दै ठेकेदार कम्पनीले यात्रुलाई घण्टौंसम्म रोकेर राख्ने गरेका छन्। माटो र बालुवा सोझै सेतीखोलामा फाल्ने गरिएको छ। ढुंगा भने पोखरातर्फ पठाउने गरिएको छ।
सडक विस्तारका नाममा यात्रुले सास्ती भोगिरहेका बेला यहाँका ढुंगा जिल्ला बाहिर निकासी गर्ने काम भएको नेकपाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे बताउँछन्। संघीय सरकारअन्तर्गत सडक डिभिजन पोखराको टेन्डरमार्फत प्रदीप—जुम्ली—साइन जेभी रूपन्देहीले घुम्ती कटानको जिम्मेवारी पाएको छ। ६ महिना अघि सुरु भएको काम करिब आधा मात्रै सकिएकाले पुरै काम सक्दा अझै ४/५ महिना लाग्ने अनुमान गरिएको छ।
वैकल्पिक मार्ग नबनाई घुम्ती कटान गर्दा यात्रुले सास्ती व्यहोर्नु परेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको ठहर छ। उनले भने, ‘संघीय सरकारको काम हो। तर, ‘दैनिक सयौं फोन र गुनासा सुन्न बाध्य छु।’