पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान गठन : कुलपतिमा ढकाल
पोखरा : पोखरा महानगरपालिकाले कला, साहित्य र संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने हेतुले महानगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपतिसहित ७ जना सदस्य बुधबार नियुक्त गरेका छन्।
प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन्। सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक चुनिएका छन्। सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन्। उपकुलपति र २ जना सदस्य चुनिन भने बाँकी छ।
प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो। पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए।
मुलुकमा संघीयता गएपछि स्थानीय तहले पनि साहित्य र कला संस्कृतिको सेवाका लागि प्रज्ञा प्रतिष्ठान गठन गर्न सक्ने हुँदा पोखरा महानगरपालिकाले त्यसको अभ्यास थालेको हो।
११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।
समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेकामध्ये लोकप्रिय गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको थियो। सिफारिस समितिसँगको परामर्शमा मेयर जिसीले धनबहादुरका छोरा दिलीप गायकलाई प्रतिष्ठानमा सदस्य नियुक्त गरेका छन्। दिलीप पनि सांगीतिक क्षेत्रमा सक्रिय युवा हुन्।
सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ। सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ। ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुने छन्। तिनै ८ जनाबाट अरु २ जना परिषद सदस्य हुनेछन्। ४ जनाचाहिँ सभा सदस्य हुन्छन्।
प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन्। मानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।
कुलपतिमा सम्भावित लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन्। लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन्। सदस्य नियुक्त सरस्वती श्रेष्ठ सरु कवि हुन्। उनी अत्यन्त्रै क्रियाशील स्रष्टा हुन्। साहित्य सेवामा खटिँदै आएका प्रकाश ज्ञवाली पोखराको सबैभन्दा पुरानोमध्येको एक साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष छन्।
उनको गजल संग्रहको एउटा कृति प्रकाशित छ।मीलन शेरचन चित्रकार हुन्। ललितकलाका अलाबा उनी जापानी चित्रकला हानानो ओसिनावामा पनि पारंगत छिन्। जीवन दाहाल लोकदोहोरी गायक हुन्। कृष्णप्रसाद भण्डारी लोकदोहोरी गाउँछन्।