मेलम्चीले जगाएकाे आशा

मेलम्चीले जगाएकाे आशा

राजनीतिक अन्यौल र अस्थिरताबाट निराश बनेका जनतालाई विकास निर्माणको क्षेत्रमा पछिल्ला दिनमा देखिएको प्रगतिले थोरै भए पनि आशा जगाएको छ। घोषणा भएको तीन दशकपछि मेलम्चीको पानी राजधानी आउने करिब–करिब पक्का भएको छ। लामो समयदेखि अलपत्र औद्योगिक क्षेत्र स्थापना प्रक्रिया पनि सुरु भएको छ। सबै प्रदेशमा एकैपटक यो कार्यक्रम अभियानका रूपमा चलेको छ। विकास निर्माणको क्रममा देखिने भ्रष्टाचार, अनियमितता तथा कछुवा शैलीबाट दिक्क भएका नागरिकलाई यस्ता गतिविधिले खुसी बनाउनु स्वाभाविक हो। यही शैलीमा विकास निर्माणको काम अघि बढ्यो भने सरकारले भन्दै आएको समृद्ध नेपाल सुखी नेपालीको नाराले समेत मूर्तरूप पाउनेछ।

यतिखेर सबैभन्दा बढी चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको खबरले विशेषगरी राजधानीवासीलाई हर्षित तुल्याएको छ। पटक–पटक भाका सार्दै अहिलेको अवस्थामा ल्याइएको आयोजनाको बाँधबाट सुरुङ मार्गमा पानी छिराइएको छ। परीक्षणका लागि गरिएको भए पनि यो काम सफल भएकाले पिउने पानी अभावमा काकाकुल बनेका राजधानीवासीलाई हर्षित बनाएको हो। संघीय राजधानी रहेको सहरमा खानेपानीको अभावमा कष्टकर जीवन बिताउनुपर्ने अवस्थाको ढिलै भए पनि अन्त्य हुने प्रक्रियामा जानु सुखद हो। कुनै प्राविधिक अवरोध नआएमा अबको तीन महिनाभित्रमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनेछन्। मेलम्ची आयोजना सफल हुनु भनेको विकासको दृष्टिले मुलुकले ठूलो फट्को मार्नु हो।

उपत्यकामा दैनिक ३७ करोड लिटर खानेपानीको माग छ। मेलम्चीबाट मात्रै १७ करोड लिटर पानी दैनिक उपत्यका भित्रिनेछ। अन्य स्रोतबाट पनि दैनिक ८ करोड लिटरजति पानी संकलन हुने गरेको छ। हाल आपूर्ति भइरहेको भन्दा दोब्बर परिणाममा पानी भित्रिएपछि उपत्यकावासीमा खानेपानीको समस्या टर्नेछ। तर जनसंख्या वृद्धिदर उच्च रहेकाले खानेपानीको माग अझै बढ्न सक्ने भएकाले त्यसतर्फ सरोकारवालाले अध्ययन थालिहाल्नुपर्छ। मेलम्चीको पानीको पहुँच नपुग्ने राजधानीकै अन्य वस्तीहरूमा देखिएको पिउने पानीको समस्या समाधानका लागि पनि छलफल हुनुपर्छ। मेलम्ची आयोजना सफल भएपछि सरकारले घोषणा गरेको राष्ट्रिय गौरवका अन्य आयोजनालाई पनि तोकिएको समयमै सम्पन्न गर्नुपर्ने दबाब पुग्छ। आयोजनाका ठेकेदार तथा यसमा संलग्न अन्य पक्षलाई पनि यसले तातो लगाउनेछ। यसले अन्ततः मुलुक र जनतालाई नै लाभ पुग्नेछ। सोमबार मात्रै शिलान्यास भएको मुलुकका विभिन्न भेगमा औद्योगिक क्षेत्र स्थापनाका प्रक्रियालाई ढिलासुस्ती नगरि सञ्चालन गरिनुपर्छ। यसअघि नै निर्माण सुरु भइसकेको अन्तर्राष्ट्रिय विमानास्थल, हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, दु्रतमार्गलगायतका आयोजनाको कामलाई पनि तीव्रता दिनुपर्छ।

कुनै पनि आयोजनाको शिलान्यास गर्दैमा सफल भइहाल्छ भन्ने होइन। ढिलै भए पनि पानी आउने पक्कापक्की भएकाले मेलम्चीले तत्कालका लागि खुसीयाली छाएको छ। तर एउटै आयोजना तीन दशकसम्म रुमल्लिएर रहनुको कारणबारे पनि खोजी गरिनुपर्छ। यस्ता आयोजनामा भएका गल्तीबाट सिकेर रुग्ण अवस्थामा रहेका अन्य आयोजना निर्माण कामलाई अघि बढाउनुपर्छ। राजनीतिक गन्जागोलको असर अब विकासका काममा पार्नु हुँदैन। राजनीति जुन दिशातिर गए पनि विकास निर्माणको काममा भने पद्धतिको विकास गर्नुपर्छ। विकासका काममा यस्तो पद्धतिको विकास गरौं, कुनै प्राकृतिक तथा दैवी प्रकोप र महामारी आएको अवस्थामा बाहेक जस्तो परिस्थितिमा पनि कामलाई अघि बढाउन सकौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.