उत्तरी कोरला नाकामा भौतिक पूर्वाधार सम्भाव्यता अध्ययन सुरु
जोमसोम: मुस्ताङको उत्तरी कोरला नाका भन्सार लगायत पुर्वाधार निमार्णका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ ।
यसका लागि कोरला नाकामा भौतिक पुर्वाधार निर्माण लगायत काम अघि बढाउन सरकारले प्राविधिक टोली मुस्ताङ पठाएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
कोरला नाकाको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन तथा सर्वेको जिम्मा सितारा कल्सन्टेन्सीले लिएको संघीय सांसद तुलाचनले बताए । सरकारले टेन्डर मार्फत् सम्भाब्यता अध्ययनको जिम्मा लगाएको सांसद तुलाचनले जनाए ।
सासद तुलाचनले भने, 'कोरला नाकामा भौतिक संरचना निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु गर्न लागेका छौँ, कल्सन्टेन्सीका ५ जनाको प्राविधिक टोलीले एक साता भित्र कोरला नाकाको भुगोल र जग्गाको अध्ययन गर्नेछ र त्यसैको आधारमा डिपिआर निर्माण हुनेछ ।'
सितारा कल्सटेन्सीका ईन्जिनियर टीका कोईरालाले कोरलामा सरकारले प्रारम्भिक सम्भाब्यता अध्ययन तथा सर्वे गर्न ५ दिन लाग्ने बताएका छन् । उनले कोरला नाकामा समग्र भूगोल र जगाको अध्ययन गरिने र काठमाडौँ फर्किएपछि त्यसका आधारमा विस्तृत प्ररियोजना प्रतिबेदन तयार हुने बताए ।
उत्तरी नेपाल (चीन सीमावर्तीक्षेत्र कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुख्खा बन्दगाह लगायत भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । तर चीनतर्फ धमाधम पुर्वाधार निर्माण हुँदै गर्दा नेपालतर्फ कुनै काम अघि बढेको थिएन । चीनले २०७४ सालदेखि कोरलाको आफ्नो भुगोलमा सरचना निर्माण सुरु गरेको थियो ।
भारतीय नाकाबन्दीपछि चर्चामा रहेको मुस्तङ, उत्तरी कोरला नाकामा सरकारले २ वर्षअघि खाली जग्गा भन्सारको स्वामित्वमा लिन जग्गा प्राप्ती प्रक्रिया अघि बढाएको थियो । प्रजिअको संयोजकत्वमा ५ सदस्यीय समितिले २४ नम्बर पिल्लरको सडक दायाँबायाँ १ हजार रोपनी जग्गा समेत प्राप्त गरिसकेको छ ।
सरकारले उत्तरी कोरला नाकाको २४ नम्बर सीमास्तभको नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्ड छोडेर भन्सार, क्वारेन्टाइन, सुरक्षा पोस्ट सुख्वा बन्दरगाह अटाउन सक्ने जमिनको लालपुर्जा प्राप्त गरेको छ ।
यस्तै कोरला नाका संचालन गर्ने दीर्घकालीन योजना अनुसार सरकारले २०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना सुरु गरेको हो । आयोजनाका अनुसार बेनी जोमसोम ६० प्रतिशत त जोमसोम कोरला ८० प्रतिशत सडकको भौतिक प्रगति भएको छ ।