मध्यवर्ती वनमा लागेको आगो रारा राष्ट्रिय निकुन्जमा पुग्यो
मुगु : सोमबार राति ऋणमोक्ष सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन नसकेपछि उक्त आगो रारा राष्ट्रिय निकुन्जको वन क्षेत्रसम्म फैलिएको छ।
छायाँनाथ रारा नगरपालिका-७ को ऋणमोक्ष मध्यवर्ती वन उपभोक्ता समितीको सुकदह भेडी खर्क भन्ने स्थानमा सोमबार राति लागेको आगो सल्केर उक्त वन क्षेत्रसँग जोडिएको रारा राष्ट्रिय निकुञ्जको वन क्षेत्रसम्म फैलिएको हो।
मध्यवर्ती वनक्षेत्रबाट सुरु भएको आगलागी स्थानीयहरुले नियन्त्रणमा लिन सोमबार रातदेखि प्रयास गरेका थिए। सामुदायिक वन क्षेत्र हुँदै आगो निकुञ्जको वन क्षेत्रसम्म फैलिएको हो।
यो वर्ष हिमपात नहुँदा जङ्गल भित्रका काठ र पिरल सुकेका छन्। सुख्खा समय भएकाले आगो फैलिएको छायाँनाथ रारा नगरपालिका-७ का वडा अध्यक्ष हरिचन्द्र शाहीले बताए।
आगो नियन्त्रणका लागि रारा राष्ट्रिय निकुञ्जका कर्मचारी नेपाली सेना, सशस्त्रप्रहरी र स्थानीयसहितको टोली खटेको भए पनि सफल भएन।
सुकेको काठ र सल्लाको बाक्लो पिरलका कारण आगो नियन्त्रणमा आउन समस्या भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्धिबिनोद दाहालले जानकारी दिए।