सडक दुर्घटनामा सजगता

सडक दुर्घटनामा सजगता

तथ्यांक फरक-फरक होला तर व्यक्तिको ज्यानै जानेगरी सडक दुर्घटना नहने मलक विश्वमा पाउन सकिँदैन। यो समस्या न्यूनीकरण गर्न हरेक मुलुकमा फरक-फरक नियम-कानुन रहे पनि नियन्त्रण हुन सकेको छैन। अझ नेपालजस्तो अल्पविकसित मुलुकमा त झन् यो निकै परको विषय बनेको छ। अधिकांश दुर्घटना अन्जानमै हुन्छन्, तर सवारी साधनमा ठोक्किएर वा लडेर सामान्य घाइते भएका व्यक्तिलाई उपचार गरेर बचाउनुको सट्टा प्राण नै लिन खोज्ने गलत प्रवृत्ति चालकमा मौलाएको छ।

मानवीयताको हद नै पार गरेर चालक तथा सवारी धनीबाट हुने गरेका यस्ता अपराधकर्मका कारण धेरैले अकालमा मृत्युवरण गर्नुपरेको छ। पछिल्ला दिनमा एकपछि अर्कोगरी भइरहेका यस्ता घटनाले मानिसमा स्वार्थी प्रवृत्ति झाँगिरहेको स्पष्ट हुन्छ। कमजोर कानुनको फाइदा उठाउँदै हुने गरेका यस्ता घटना न्यूनीकरण गर्न कानुनी संरचनामा परिवर्तन गरेर कडा कारबाहीको प्रावधान राखिनुपर्छ। सँगसँगै जनचेतना अभियान पनि सञ्चालन गरिनुपर्छ।

धादिंङको सल्यानटारमा आइतबार सडक खन्ने क्रममा भएको दुर्घटनामा डोजर चालकबाट कल्पना पनि गर्न नसकिने अपराध भयो। बाटो खन्ने क्रममा घाँस काटेर घर फर्कदै गरेकी स्थानीय सरस्वती कुमाललाई डोजरले ठक्कर दियो। त्यतिबेला चालक र डोजर धनीबाहेक त्यहाँ सरस्वतीलाई देख्ने कोही थिएन। ठक्करबाट सरस्वतीको तत्काल निधन भयो वा भएन कसैलाई थाहा छैन, तर अपराधबाट उम्किन चालकले तत्कालै सरस्वतीलाई सडक नजिकै छेउमा खाल्डो खनेर पुरिदिए। दुर्घटनास्थल भन्दा अलि परको बसमा रहेका यात्रुले डोजरले मान्छे पुरिरहेको देखेपछि स्थानीयलाई खबर गरेका थिए। घटनास्थलमा स्थानीय पुग्दा डोजर धनी र चालक भागिसकेका थिए। तत्कालै खाल्डोबाट उतार्दा सरस्वतीको डोको, घाँस र चपल सबै पुरिएको अवस्थामा भेटिएको थियो। यो घटनाबाट के स्पष्ट हुन्छ भने चालकहरू आफू बच्न यात्रु वा आफैले दुर्घटना गराएका व्यक्तिको ज्यान लिन पनि पछि पर्दैनन् ।

डोजरको ठक्करबाट घाइते भएकी सरस्वतीले बेलैमा उपचार पाएकी भए बाँच्न सक्थिन होला, तर चालकको ब्रह्मले त्यो देखेन। उपचार खर्च बेहोर्नुपर्ने वा अन्य झन्झटमा फस्ने सोंचाइका कारण अधिकांश दुर्घटनामा सकेसम्म चालक भाग्ने कोसिस गर्छन्, भाग्न सकेनन् भने घाइतेलाई ब्याक गरेर भए पनि मार्न पछि पर्दैनन्। औषधिउपचार खर्च बेहोर्नुभन्दा घाइतेलाई मार्दा फाइदा हुनेगरी बनाइएको विद्यमान कानुनी संरचनामा परिर्वतन नहुँदासम्म यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिँदैन।

नेपालमा विशेषतः सडकको कमजोर संरचना, प्रयोगकर्तामा पर्याप्त सावधानीको अभाव, पुरानो सवारी साधनलगायतका कारणले बढी दुर्घटना निम्तिने गरेका छन्। हो, सबै दुर्घटनामा चालक मात्रै दोषी हुन्छन् भन्ने छैन, कहिलेकाहीं सडक प्रयोगकर्ताको कमजोरीका कारण पनि यस्ता दुर्घटना निम्तिन सक्छन्। तर, व्यक्तिको निधन नै भइसकेपछि चालक वा सवारी धनीलाई चोख्याउने काम गर्नुहुँदैन। सल्यानटारको घटनामा पनि चाकललाई कडा कानुनी कारबाही हुनुपर्छ। डोजरको ठक्करपछि घाइते भएकी सरस्वतीलाई खाल्डो खनेर पुर्न कसैले प्रेरित गरेको रहेछ भने यसबारेमा पनि वास्तविक अध्ययन हुनुपर्छ। सबै प्रकारका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। दुर्घटना पूर्ण रोकथाम त गर्न सकिन्न तर न्यूनीकरण गर्नेतर्फ छलफल हुनुपर्छ।

सरस्वतीको हत्यारा चालकलाई यस्तो कारबाही हुनुपर्छ, जुन कारबाहीबाट अन्य चालकले पनि सबक सिकुन्। दोषीलाई कारबाहीसँगै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ। तर, घटना भएपछि आवेगमा सवारी साधन जलाउने, ढुंगामुडा गर्नेलगायतका क्रियाकलाप बन्द हुनुपर्छ। सरकारले पनि सडक सुरक्षालाई नागरिकको सुरक्षासँग जोडेर विशेष योजना बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.