विद्यालयलाई बालमैत्री बनाउन १५ लाख सहयोग
सुर्खेत : जिल्लाका सामुदायिक विद्यालयलार्य बालमैत्री बनाउने अभियान थालिएको छ । सुरक्षित विद्यालय निर्माण गर्दै बालबालिकाको सिकाइ दर बढाउन यो अभियान थालिएको हो । यसका लागि विद्यालयमा आवश्यक पूर्वाधार विकास गरिएको छ ।
बालमैत्री विद्यालय बनाउन जिल्लाका १२ वटा विद्यालयलाई १५ लाख रुपैयाँ वरावरको सहयोग प्रदान गरिएको छ । भिएसओ नेपालको सहयोगमा आसमान नेपालले जिल्लाका पाँच वटा पालीकामा रहेका विभिन्न १२ वटा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त रकमबाट विद्यालयहरुले भौतिक सुधार गरेका छन् । विद्यालयहरुसँग सम्झौता गरेर काम अगाडि बढाइएको भिएसओ नेपालका राष्ट्रिय स्यंमसेवक जेसन तामाङले जानकारी दिए ।
सहयोग रकमबाट सम्बन्धित विद्यालयहरुमा शौचालयको मर्मत तथा पुनर्निर्माण, सुरक्षित खानेपानीको धारा निर्माण, छात्राहरु महिनावारी हुँदा आराम गर्ने कक्ष निर्माण, स्यानेटरी प्याड डिस्पोज निर्माण, वालवालीकामैत्री कक्षा कोठाको मर्मत तथा व्यवस्थापन लगायतका काम गरिएका छन् ।
यसबाट विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले विद्यालयमा रहँदा सुरक्षित रुपमा सिकाइ गर्न सक्ने अपेक्षा गरिएको छ । भेरी माध्यमिक विद्यालय रानीघाटका प्रधानाध्यापक रन्तवहादुर वुढाले सहयोग रकमबाट सुरक्षित शौचालय निर्माण गरिएको र यसले विद्यार्थीलाई सहज भएको बताए ।
सुरक्षित सिकाइ परियोजनाले सहयोग गरेपछि शौचालय प्रयोगमा ल्याइएको उनको भनाइ छ । विद्यालयसँग स्रोत नहुँदा लामो समयसम्म समस्या भोग्नु परेको उनले सुनाए । सहयोग रकम पाएपछि अन्य विद्यालयले पनि सुरक्षित सिकाइका लागि काम गरेका हुन् ।
हाल सुरक्षित सिकाइ परियोजनाले विद्यालयमा मर्मत संहारका कार्यसहित अभिभावक सचेतना, वालवालिकाहरुका लागि सुरक्षित विद्यालय निर्माणका लागि आत्मरक्षा तालिम, वालविवाह सम्वन्धी सचेतना लगायतका कार्य गर्दै आएको सोही परियोजनाका अधिकृत जानकी घर्तीले बताइन् ।
सामुदायिक विद्यालयमा बालबालिकाहरुले शौचालय मर्मत जीर्ण बनेको, पानी नहुनु, शौचालय सफाइ नहुनु, विद्यालयमा खानेपानीको समस्या भएको बारम्बार गुनासो गरेपछि त्यसको समाधानका लागि परियोजनाले सहयोग उपलब्ध गराएको हो । हाल शौचालय मर्मत र विद्यालयमा खानेपानी उपलब्ध भएपछि परियोजना संचालन भएका विद्यालयका पाँच हजारभन्दा धेरै विद्यार्थी लाभान्वित भएका छन् ।
साथै परियोजनाले अब महिनावारीको बेलामा छात्राहरुलाई समस्या नहोस् भन्नका लागि ६ लाख वरावरको सुरक्षित आरामकक्ष निर्माणको योजना रहेको जनाएको छ । जनक मावि गमखोलाका छात्रा ताजगी हामालले विद्यालयमा खानेपानीको धारा निर्माण भएपछि आफुहरुलाई सहज भएको बताइन् ।