खेलाडीको स्मृतिमा पहिलो राष्ट्रिय प्रतियोगिता
राजविराज : सप्तरीमा पहिलो पटक खेलाडीको स्मृतिमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ।
भारोत्तोलन खेलाडी तथा निर्णायक देवसुन्दर यादवको स्मृतीमा आगामी फागुन २९ गतेदेखि राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जिल्ला भारोत्तोलन संघ सप्तरीले जनाएको छ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिमा शनिबार पत्रकार सम्मेलन गरेर भारोत्तोलनका राष्ट्रिय खेलाडी तथा निर्णायक देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तालन प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला अध्यक्ष महेश यादवले बताए।
प्रतियोगितामा सेना, सशस्त्र र नेपाल प्रहरीसहित देशभरका २५ टिम गरी १ सय २५ खेलाडीको सहभागिता रहने नेपाल भारोत्तोलन संघका महासचिव तिलक राउतले जानकारी दिए। जस्मा ४५ जना महिला खेलाडीको सहभागिता रहने छ।
सप्तरीबाट २०४२ सालदेखि खेल्न सुरु गरेका राजविराज– ९ निवासी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो। उनले २० वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पछिल्लो पटक राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै आएका थिए।
प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले र पुरस्कार वितरण पूर्वमन्त्री मात्रृका यादवले गर्ने आयोजक समितिले जनाएको छ। खेलाडीलाई मेडल, कप, ताज र नगद पुरस्कारले पुरस्कृत गरिने प्रतियोगिताका लागि १७ लाख ३९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले कोभिड-१९ को महामारीपछि पहिलो पटक राजविराजमा राष्ट्रिय प्रतियोगिता हुन लागेको बताए।