मुस्ताङमा गुन्जियो महिला आवाज
जोमसोम : आज सन् २०२१ मार्च ८ अर्थात(१११)औं अन्तराष्ट्रिय महिला दिवस । यस उपलक्ष्यमा हिमालपारिको जिल्ला मुस्ताङमा सोमबार महिला सशक्तिकरणको आवाज गुञ्जिएको छ ।
'महिलाको सुरक्षा,सम्मान र रोजगार, समृद्ध नेपालको आधार’भन्ने मुल नारासहित मुस्ताङको घरपझोङ गाउँपालिकाको आर्थिक सहयोग तथा जोमसोम महिला समुह र न्यू निलगिरि बहुउद्देश्य सहकारी संस्था लि जोमसोमको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो ।दिवस उपलक्ष्यमा घरपझोङका ५ वटै वडाका कुल ८ वटा महिला समुहले एक्येवद्धता जनाएका छन् ।
दिवसको उपलक्ष्यमा घरपझोङ ५वटै वडाका महिला समुह ,स्थानीय जनप्रतिनिधि , सुरक्षा निकाय ,जिल्ला स्थित सरकारी तथा गैरसकारी संघसंस्था , प्रतिनिधि,पत्रकार र व्यवसायी लगायतको टोलीले महिला र्यालीमा सहभागिता जनाए । यसअघि महिला हक अधिकार र महिला उत्थानका नारा लगाउँदै सुरु भएको महिला र्यालीले मुस्ताङ सदरमुकाम जोमसोम बजार परिक्रमा गर्यो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा महिला मूक्तिको नारासहित स्थानीय महिलाहरु विविध जनजाती भेषभुषा झल्किने पहिरनमा सजिएर र्यालीमा सरिक भएका थिए।
र्यालीपछि आयोजित कार्यक्रममा घरपझोङकी उपाध्यक्ष शर्मिला गुरुङले पुरुष सरह महिलाले शैक्षिक,सामाजिक,आर्थिक एवं राजनैतिक अधिकारका लागि थप संर्घष गर्नुपर्ने बताईन् ।महिला उत्थानका लागि बर्सेनि मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाउने गरेको सन्दर्भ जोड्दै उपाध्यक्ष गुरुङले जबसम्म आर्थिक ,सामाजिक र राजनैतिक तहमा महिला सक्षम हुदैनन् तबसम्म महिला शसक्तीकरण गर्ने कार्य पुरा नहुने बताइन् ।
घरपझोङकी महिला तथा बालबालिका प्रमुख सरिता थकालीले नेपालको संविधान २०७२ ले लैङ्गिक समानताको हकलाई प्रत्याभुत गरेको बताईन् । उनले समाजमा अझै महिलाहरुलाई हेर्ने दृष्टिकोण समान नभएको उल्लेख गर्दे थकालीले यसका लागि समावेशी महिला पहुचका लागि महिला समुदायनै एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।
यस्तै ,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले सन् १९११ बाट अन्तराष्ट्रिय महिला दिवस मनाउने प्रचलन सुरु भएको उल्लेख गरे । प्रहरी निरीक्षक अधिकारीले यातायातको पहुच र रोजगारका क्रममा मुस्ताङ आउने व्यक्तिका कारण आशिंक महिला हिंसा बढेको बताए ।
कार्यक्रममा घरपझोङका ८ वटै महिला समुहका प्रतिनिधि ,एक्याप प्रमुख तुलसी दाहाल ,जामसोम महिला समुहकी संस्थापक सदस्य रजनी शेरचनले लगायतले लैङ्गिक विभेदका कारण महिला माथि भेदभाव गरिनु न्यायोचित नभएको तर्क गरे । उनीहरुले महिलामाथि हुने सबै प्रकारका हिसा तथा बलात्कार र अन्याय रोकथाम गर्न सशक्त कानुनको आवश्यकता पर्ने बताए ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न महिला समुहले महिला अधिकार संम्वन्धि गित ,नृत्य प्रर्दशन गरेका छन् । कार्यक्रममा महिला हक अधिकारका विषयमा खुला वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।