तीन छोराछोरीसहित आमा मृत फेला

तीन छोराछोरीसहित आमा मृत फेला

दैलेख : कर्णालीमा नदीमा मंगलबार दिउँसो दुई जनाको शव फेला पर्‍यो। यी शव ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललितको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए। डीएसपी श्रेष्ठका अनुसार बेलखेतस्थित दैलेख र अछाम जोड्ने पुलनजिकै यी आमाछोरालाई मृत भेटिएको हो।

सुकीकै छोरीहरू १४ वर्षीया छोरी कल्पना र १२ वर्षीया सरितालाई सोमबार मृत भेटिएको थियो। अछामको पञ्चदेवलविनायक–४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने पासोमा उनीहरूको शव भेटिएको जनाइएको छ।

दैलेखको आठबीस नगरपालिका–३ निमाइलकी सुकीसहित उनका चार छोराछोरी आइतबारदेखि सम्पर्कविहीन थिए। बेपत्ता पाँचमध्ये चार जनाको शव कर्णाली नदीमा भेटिएको हो। 

७ वर्षीया रजनी बडुवालको अवस्था भने मंगलबार अबेरसम्म अज्ञात छ। रजनीको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार सुकीका पति मानबहादुर बडुवाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। मानबहादुरसँग झगडा परेको र निरन्तरको हिंसा सहन नसकी सुकीले छोराछोरीसहित नदीमा हाम फालेको हुन सक्ने प्रहरीको भनाइ छ। त्यो दिन पनि झगडा परेपछि घाँस काट्न भनेर हिँडेको बयान मानबहादुरले प्रहरीसमक्ष दिएका छन्। घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पछि मानबहादुरले फोन गर्दा सम्पर्क हुन सकेन। भोलि एक्कासि छोरीहरू मृत भेटिएको खबर पाएको बताएको जनाइएको छ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिले पतिले पटकपटक गरेको हिंसा सहन नसकेर सुकीले छोराछोरीसहित आत्महत्या गरेको हुन सक्ने बताएका छन्। ‘पतिले पटकपटक हिंसा गर्ने गरेको हामीले सुनेका थियौं। पतिको थिचोमिचो सहन नसकेर सुकीले बालबच्चासहित मृत्युको बाटो रोजेकी हुन सक्छ’, आठबीस–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले भने, ‘बाँकी अनुसन्धानपछि पत्ता लाग्ला।’डीएसपी श्रेष्ठले गाउँमा बुझ्दा पहिलेदेखि पति र पत्निबीच झगडा हुने गरेको पाइएको छ। ‘हत्या हो कि आत्महत्या भन्नेबारे पोस्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ’, उनले भने।

६ जनाको परिवारले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थियो। स्थानीयका अनुसार मानबहादुरमा मदिराको लत थियो। मदिराकै कारण परिवारमा बेलाबेला झगडा हुन्थ्यो। मानबहादुर आइतबार लाटीकाँध बजारको एक होटलमा मदिरा सेवन गरिरहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.