भ्रष्टाचारका ११ मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका सञ्चालकविरुद्ध करोडौं बिगोसहित मुद्दा दायर गरेको छ।
अख्तियारले सञ्चालक छविरमण अधिकारी, वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिएर विशेष अदालत काठमाडौंमा पेस गरिएको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए।
उनीहरूले मनपरी कर्जा वितरण गरको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनामा ११ वटा मुद्दा दायर भएका छन्। पहिलो मुद्दामा २ करोड १ लाख ९४ हजार बिगोसहित ११ जनालाई मुद्दा दायर भएको छ।
अर्को मुद्दामा ३ करोड ८७ लाख ९४ हजारसहित १० जना, तेस्रो मुद्दामा २ करोड १५ लाख २५ हजार बिगोसहित १३ जना, चौथो मुद्दामा ४ करोड ६३ लाख ६८ हजार बिगोसहित १२ जना, पाँचौं मुद्दामा ४ करोड ३५ लाख ९८ हजारसहित १२ जना, छैटौं मुद्दामा २ करोड ९७ लाख ९१ हजारसहित ११ जना र सातौं मुद्दामा १ करोड ७५ लाख ६७ हजारसहित १७ जना छन्। यसैगरी आठौं मुद्दामा ११करोड ११ लाख ५८ हजारसहित १५ जना, नवौं मुद्दामा १ करोड ४५ लाखसहित १४ जना, दसौं मुद्दामा ५ करोड ८७ लाख ३२ हजारसहित १० जना र एघारौं मुद्दामा ११ लाख ५४ हजार बिगोसहित ११ जना कायम गरेको छ।
दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमितता, लापरवाही ढंगबाट ठूलो मात्रामा कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना देखिएको छ। एउटै मुद्दामा उनीहरूविरुद्ध ८ देखि १० वर्षसम्मको कैद सजायको माग दाबी गरिएको छ।