मुस्ताङमा नेकपाको साइन बोर्ड हटाएर एमालेको राखियो
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यालय स्थापना भएको छ ।२०७४ साल अघि भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले ) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको पार्टी एकता पूर्वसाविक घर एमालेको पार्टी कार्यालय रहेको थियो ।
एमाले र माओवादीबीच पार्टी एकता भएसँगै साविक एमालेको पार्टी कार्यालयलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय बनाइएको थियो ।पछिल्लो राजनीतिक घटनाक्रम अनुसार सर्वोच्च अदालतले साविक नेकपा एमाले र साविक माओवादी केन्द्रलाई यथावत रहेको फैसला सुनाएपछि नेकपा एमाले मुस्ताङले साविककै स्थानमा कार्यालय स्थापना गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य रमेश भट्टचनले जानकारी दिए ।
उनका अनुसार एमाले र माओवादीबीच भएको पार्टी एकिकरणपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साइन बोर्ड मेटाएर एमाले मुस्ताङको कार्यालय उल्लेख भएको साइन बोर्ड टाँसिएको हो ।
मुस्ताङमा कुनै पनि राजनितिक पार्टीको आफे्नै कार्यालय छैनन् । नेपाली कांग्रेस ,एमाले , माओवादी केन्द्र र राप्रपालगायतका पार्टीले मुस्ताङमा व्यक्तिको घर भाडामा लिइ कार्यालय स्थापना गरिएको थियो । नेकपा एमाले कार्यालय रहेको भाडाको घर जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनको रहेको जनाइएको छ ।
मुस्ताङमा साविक नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कार्यालय बोर्ड मेटाइ पुन:लेखन गरिएको एमाले कार्यालयको साइन बोर्ड स्थापना गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं एमाले केन्द्रीय सदस्य एकबहादुर रानामगर ,जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङ,एमाले जिल्ला कमिटी सदस्यहरु रमेश भट्टचन ,शर्मिला गुरुङ , विशाल विक र प्रेष संगठन मुस्ताङकी संयोजक सुनदेवी रसाईली र पत्रकार महासंघ मुस्ताङका सहसचिव विकास विकलगायतको उपस्थिती रहेको थियो ।
यसअघि एमालेका केन्द्रीय सदस्य एकबहादुर रानामगरले नेकपा (एमाले) कार्यालयमा लेखिएको साइन बोर्ड वाचन गरी कार्यालय उद्घाटन गरेका थिए । एमाले कार्यालय स्थापना गरिएको घरमा साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को १/१ थान काठको दराज ,टेबल र एक दर्जन कुर्ची छन् । एकतले माटो बिच्छ्याइएको कच्ची ६ कोठे घरमा एक कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो ।