चिकित्सकबीच आरोप प्रत्यारोप
राजविराज : आरोप प्रत्यारोप तथा अविश्वास छताछुल्ल भएपछि सप्तरीका चिकित्सक दुई समूहमा विभाजित भएका छन्।
लामो समयदेखि चलिरहेको आन्तरिक विवादले हातपातको रुप लिएपछि दुई समूहमा विभाजित चिकित्सकले एकअर्कालाई गम्भीर आरोप लगाउन र खुइल्याउन उद्यत देखिएका छन्।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजस्थित चिकित्सक निवासमा बुधबार राति आक्रमणको प्रयास भएको घटनालाई लिएर दुबै पक्षले पत्रकार सम्मेलन गरी एक अर्कामाथि आरोप लगाएका हुन्।
अनुप दास धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर अजय चौधरीले बुधबार राति ११ बजे निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झा नेतृत्वमा रहेका अस्पतालका केही कर्मचारीसहितको टोलीले गालीगलौज गर्दै ढोकामा लातले प्रहार गरेको आरोप लगाए।
घटनाबारे जानकारी दिएपछि आइ पुगेका सहकर्मी चिकित्सकहरूले बीचबचाउ गरी उनीहरूलाई धपाएको डाक्टर चौधरीले पत्रकार सम्मेलन गरी बताए। उनले डाक्टर झाविरुद्ध अभद्र व्यवहारअन्तर्गत पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी समेत दिएको बताए।
अस्पतालका निमित्त मेसु डाक्टर झाद्वारा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र केही औषधि व्यवसायीको जमातले राति आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाए। सरकारी अस्पतालमा हाजिर गरेर दिनभर निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई स्पष्टिकरण सोधेको विषयमा गुट बनाई आक्रमण गरेको र प्रायोजित रुपमा निराधार हल्ला चलाएको डा. झाले बताए।
निजी अस्पताललाई फाइदा हुने गरी मेशिनहरू बिगार्न खोज्ने, उपचार सम्भव भएका बिरामीहरू पनि रेफर गर्ने, कार्यरत सरकारी अस्पतालमा राउण्ड नलिने, काम गर्नु पर्ने समयमा निजी अस्पतालमा काम गर्ने, फेलोसिपमा पढदा र अमेरिका रहदा समेत हाजिर गर्ने प्रवृति खुलासा गर्दै डा. झाले निजी अस्पताल चलाउने दुष्कर्म र कुत्सित प्रयासस्वरुप घटना भएको आरोप लगाए।
डा. झाले गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत रही सोही अस्पतालको हितविपरित निजी अस्पतालको लाभका लागि काम गर्ने चिकित्सक क्यान्सर बनेको भन्दै कडाई गर्न खोज्दा सिंगो छिन्नमस्ता अस्पतालका चिकित्सक, कर्मचारी आफूमाथि खनिएको आरोप लगाए।
डा. चौधरीको पत्रकार सम्मेलनमा उपस्थित डा. सरोज झा, डा. दिनेश उप्रेती, डा. ललन गुप्ता, डा. पारसमणी साह, डा. जितेन्द्र यादवलगायतले निमित्त मेसु डा. झाले अस्पताल सुधारमा ध्यान नदिई विरामीकै अगाडि होच्याउने, पटक–पटक अनावश्यक रुपमा स्पष्टिकरण सोध्ने, हेप्ने गरेकाले काम गर्ने वातावरण नभएको आरोप लगाए।निमित्त मेसु झाले हैसियतको दुरुपयोग गरी प्रतिशोधपूर्ण तरिकाले किनारा लगाउने गरेको आरोप उनीहरूले लगाए।
अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित चिकित्सक, कर्मचारीहरूले भने निमित्त मेसु झाले डाक्टर काममा आउन छाडेका डा. चौधरीलाई स्पष्टिकरण सोधेपछि कार्यकक्षमै आई चौधरीले तथानाम गाली गरी धम्क्याएको बताए।
मौखिक र लिखित रुपमा चिकित्सकहरू आरोप प्रत्यारोपमा लागेपछि विवाद झन गिजोलिएको छ। दुई समूहमा विभाजित डाक्टरहरूको ‘आरोपपत्र’ र ‘कारवाहीको माग’ले सप्तरीको स्वास्थ्य अवस्थालाई गम्भिर मोडमा पुर्याएको चिकित्सकहरूले नै बताएका छन्।
चिकित्सहरूका बीच पहिले देखि नै दुई फ्याक महसुस गरिए पनि छताछुल्ल रुपमा पहिलो पटक बाहिरिएको हो। डा. झाको विपक्षमा छिन्नमस्ता अस्पतालका कर्मचारी, चिकित्सक र उनीहरूले क्लिनिक सञ्चालन गरिरहेका औषधी व्यवसायी, ल्याब टेक्निसियनहरू देखिएका छन्। उनीहरूले बिहीबार राजविराजमा प्लेकार्डसहित विरोध प्रदर्शन समेत गरे।
अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीहरू भने सरकारी अस्पतालमा हाजिर गरी निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूको काम नगर्ने प्रवृतिले यस्तो अवस्था उत्पन्न भएको बताउँछन्। चिकित्सकहरूबाटै सीमा र मर्यादा नाघेर आरोप प्रत्यारोप हुँदा स्वास्थ्य सेवाको अवस्था संकटग्रस्त हुने भन्दै राजविराजका सुरेश शर्माले सरोकारवाला निकायले सबै प्रकारको प्रयास थाल्नु पर्ने बताए।