आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट

आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट

सिरहा : जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे कानुनमन्त्री लीलानाथ श्रेष्ठको रोहवरमा सार्वजनिक भए। त्यसको केही घण्टामै लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा बम विस्फोट भयो।

घटनास्थलमा गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा च्यातिएको अवस्थामा भेटियो। पछि आफ्नो समूहले विस्फोट गराएको भन्दै गोइतले प्रेस विज्ञप्ति जारी गरेका छन्। तराईमा भ्रष्टाचारविरोधी अभियानअन्तर्गत विस्फोट गराएको गोइतको विज्ञप्तिमा उल्लेख छ।

सिरहाका एसपी सुदीपराज भण्डारीले सेवाग्राहीको भीडभाड हुने समयमा पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा विस्फोट भएको बताए। ‘सार्वजनिक हुने समूहकै पम्प्लेट घटनास्थलमा भेटिएको छ’, एसपी भण्डारीले भने, ‘त्यसको प्रतिक्रियास्वरूप उक्त समूहले नै विस्फोट गराएको हो कि भन्ने लागेको छ। हामीले अनुसन्धान तीव्र पारेका छौं।’

मालपोत कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले पहिले कुनै धम्की नआएको तर एक्कासि यस्तो घटना भएको बताए। विस्फोटमा सेवाग्राही दिनेश भण्डारी गम्भीर घाइते भएका छन्। भण्डारीलाई थप उपचारका लागि आइतबारै सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। नायब सुब्बा शिवकुमार यादव र सेवाग्राही फूलकुमारी ठाकुरलाई थप उपचारका लागि धरान रेफर गरिएको छ।

विस्फोटमा भण्डारी, यादव र ठाकुरसहित अन्य घाइतेमा भगवानपुर गाउँपालिका–३ का बद्रीनारायण यादव, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, लहान–१६ का लालबाबु विक, धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर रहेको प्रहरीले जनाएको छ। विस्फोटबाट कार्यालयका कम्प्युटर, प्रिन्टर र केही फर्निचर टुटफुट भएका छन्।

‘हामी मालपोत कार्यालयमा बसिरहेका थियौं। एक्कासि ठूलो आवाज आयो’, घाइते रानाले भनिन्, ‘पछि बम विस्फोट भएको थाहा पायौं।’ घाइते पाँचै जनाको उपचार लहानस्थित राहुस्मारक अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटको घटनाले त्रसित बनाएको स्थानीय श्याम साह (भोरे–भोर)ले बताए। ‘लहानमा पछिल्लो केही वर्षमा पटक–पटक बम विस्फोटको घटना भएको छ’, साहले भने, ‘यस्तो घटनाले स्थानीयलाई त्रसित बनाएको छ। प्रहरी–प्रशासनले  घटनामा संलग्न अपराधीलाई चाँडै कानुनी दायरामा ल्याउनुपर्छ।’

मालपोत इलाका प्रहरी कार्यालय लहानबाट दुई सय मिटर दूरीमा पर्छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.