मुस्कानसहितको जीवन
मुस्कान र हाँसो सर्वमान्य भाषा हुन्; जुन सबै भाषीले, सबै उमेरका मान्छेले तथा केही जनावरले समेत बुझ्न सक्छन्। मानसिक तनाव, रिस, घमन्ड, भोक, पीर तथा चिन्ता कम गर्न तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी छ।
भनिन्छ, ‘शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई पनि जित्छ।’ मुस्कान भनेको जिन्दगीले जिन्दगीलाई गाँस्ने पुल हो। सबैभन्दा मीठो र आकर्षित मुस्कान भनेको एक बैंसालुले अर्को बैंसालुलाई छान्दा दिइने मुस्कान हो। साहित्यले मुस्कानलाई ‘ओछ्यान नलगाएको सुहाग’ को रूपमा पनि तुलना गरेको पाइन्छ। लेखकलाई सृजनाको स्रोत पनि बन्छ। मनोविज्ञानअनुसार वास्तविक हाँसो आन्तरिक अनुभूति हो र सुखमै मात्र आउँछ। वास्तविक हाँसोले आफू मात्र होइन; अरूलाई पनि आनन्द प्रदान गर्छ। त्यसैले मुस्कान वास्तविक, शुद्ध र आनन्ददायी अनुभूति हो तर हाँसो भने कसैलाई उपहास गर्ने खतरनाक प्रवृत्ति पनि हुन सक्छ।
मुस्कानको महत्व
मुस्काउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेशी उपयोग हुन्छन्। हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्छ। धेरै मांसपेशी प्रयोग हुन्छन्। धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानिनोक्सानी पुर्याउँछ। तर मुस्कानले सफलता दिन्छ; साथी दिन्छ; सुख दिन्छ अनि मुस्कानैमुस्कान दिने भएकाले मुस्कान दान गर्नु उच्चतम दान पनि हो।
चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ। आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढेर जान्छ। त्यस्तै प्रेमीप्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई घोलिदिन्छ, पगालिदिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ। प्रेममा धेरै प्रेमी भन्ने गर्छन्, ‘मलाई तिम्रो नाक, मुख, धनसम्पत्ति, योग्यता, सोर्सफोर्सभन्दा पनि अनन्त मुस्कान भए पुग्छ।’ त्यसै प्रेमिकाहरू भन्छन्, ‘मलाई तिम्रो माया र सुरक्षाका साथसाथै मुस्कान चाहिन्छ।’ मुस्कान प्रेमको मुटु, जीवनको प्राण, स्वास्थ्यको बाटो तथा सुखको ढोकाको रूप हो; जसले नोक्सान होइन फाइदैफाइदा दिन्छ। यावत् तथ्यबाट मुस्कानको महत्व प्रस्टिन्छ। अपवादमा मृत्युमा हाँसिने हाँसो अस्वस्थताको द्योतक हो भने धनुष्टकारमा देखिने पीडादायी, जबर्जस्ती हाँसो हो।
सुन्दर देखिन चाहनेले अनुहार राम्रो, अनुहार राम्रो पार्न चाहनेले दाँत, ओठ र त्यसबाट प्रस्फुटन हुने मुस्कान सुन्दर, मिठास र आकर्षक बनाउनैपर्छ।
अमेरिकी जीव विज्ञानकी प्रोफेसर डा. हेलेनले हास्नु एक व्यायाम भएको प्रमाणित गरेकी छिन्। खुलेर हाँस्दा त्यति क्यालोरी खर्च हुन्छ जति क्यालोरी तपाईं हल्का हिँड्दा हुन्छ। भुईंमा लडेर पेट मिचिमिची अनियन्त्रित तरिकाले हाँस्नाले १२० क्यालोरी प्रतिघन्टा अर्थात् मध्यम गतिमा हिँड्दा प्रयोग हुने क्यालोरी बराबर हो। खित्का छाडेर हाँस्दा प्रति घन्टा सय क्यालोरी बराबर शक्ति खर्च हुन्छ भने बाहिर नदेखाईकन भित्रै मुसुमुसु हाँस्दा करिब २० क्यालोरी प्रति घन्टासम्म प्रयोग हुन्छ। हरेक १० देखि १५ मिनेटको हाँसोले ४० क्यालोरी खपत हुन्छ। पेटको मांसपेशी सिक्स प्याक बनाउन पेटको क्रन्चिजभन्दा हाँसोबाट बढी हुने गर्छ। खुलेर हाँस्दा रक्तसञ्चारलाई प्रभावकारी बनाई हरेक विशेषतः मुटुका मांसपेशीको व्यायाम हुन्छ। तथापि हाँसो व्यायामको विकल्प होइन।
हाँसोले विभिन्न किसिमका सकारात्मक प्रभाव पार्छ। कमेडी कार्यक्रम हेर्दा तौल घट्छ। हाँसोले सम्पूर्ण शरीरलाई आराम दिलाउँछ। स्वस्थ रहने रसायन बढाउँछ, आयु बढाउँछ र बौद्धिक स्तर बढाउँछ। तनाव घटाउने, रक्तचाप घटाउने सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, इम्युनिटी बढाउने, हृदयलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ मुस्कान वा हाँसोले। तसर्थ विनामूल्यमा मुस्कानबाट जीवनभर सफलता, खुसी र धेरै फाइदा पाउन सकिन्छ।
झनै हीरक मुस्कान
कानमा झुम्का, टप लगाउने पुरानो चलन विकसित हुँदै नाइटो छेडेर झुम्का झुन्ड्याउने, आँखीभौंमा टप लगाउने, जिब्रोमा गहना लगाउने फेसन व्यापक भइरहेको वर्तमान फेसन विधामा दाँतमा हिरा जड्ने फेसनले पनि नेपालमा स्थान पाइसकेको छ। अहिले विश्वभर झन्डै एक करोड मानिसले दाँतमा हिरा जडेका छन्। यो फेसन युरोपबाट सुरु भई युरोपेली मुलुक हुँदै जापान, सिंगापुर, भारत हुँदै नेपाल प्रवेश गरेको हो। कुनै घाउ वा पीडाविना सजिलै दाँतमा हिरा जडान गर्न सकिन्छ। हिराको स्टोन प्रयोग गरिने यो झर्दैनझर्ने वा झरेर निल्दा मानिस मर्ने पनि हुँदैन। केही वर्षदेखि युरोप र अमेरिकामा प्रचलनमा आएको हिरक मुस्कान अब दक्षिण एसियाली मुलुकमा पनि भित्रिएको छ।
कुनै बेला हुनेखानेहरू दाँतलाई सुनले मोर्थे र समाजमा विशिष्ट व्यक्तिका रूपमा आफ्नो पहिचान गराउँथे। उनीहरूको स्वर्ण मुस्कान हेर्न धेरै मानिस लालायित पनि हुन्थे। यसो गर्दा आफूलाई आवश्यक परेका बेला सुन बेच्न पनि पाइने र नबेचुञ्जेल दाँतको शृंगार पनि हुने गथ्र्याे। तर फेसनको परिवर्तनसँगै स्वर्ण मुस्कानको फेसनमा परिवर्तन आई हिरक मुस्कान भित्रिएको छ। कम मूल्यमा पाइने यस्तो हिरक मुस्कान विशेषगरी टिनएजर युवतीबीच लोकप्रिय छ। हिरक मुस्कानका लागि सीधै आफ्नो औंठी, टप वा फुलीमा लगाउने चम्किलो हिरा वा क्रिस्टलको टुक्रा किन्नुहोस् र दन्त विशेषज्ञकहाँ जानुहोस्। दन्तविशेषज्ञ विशेष गरी सौन्दर्य विशेषज्ञ दन्त चिकित्सकले सुहाउँदो रूपमा त्यसलाई तपाईंको दाँतमा फिट गरिदिनुहुन्छ।
अन्त्यमा, सुन्दर देखिन चाहनेले अनुहार राम्रो, अनुहार राम्रो पार्न चाहनेले दाँत, ओठ र त्यसबाट प्रस्फुटन हुने मुस्कान सुन्दर, मिठास र आकर्षक बनाउनैपर्छ। थरीथरीका सौन्दर्यवद्र्धक शृंगार सामग्री प्रयोग गरेर र शृंगारसँग सम्बन्धित उपचार गराएर मात्रै पुग्दैन; दाँत, ओठ र मुस्कानको वैज्ञानिक अध्ययन र उपचार हुनैपर्छ र तहाँबाट प्रस्फुटन हुने हाँसो र मुस्कानले सबैको हित गर्छ।
–नेपाल सरकारका मुख स्वास्थ्य प्रमुख डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ।