काभ्रेभीरमा ब्लास्टिङ गर्दा बेनी-जोमसोम सडक अवरुद्ध
जोमसोम : मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र काभ्रे भीरमा ब्लास्टिङ गर्ने क्रममा बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ। कालिगण्डकी करिडोर अन्तर्गत शर्मा गजुरमुखीले सडक स्तरोन्नति गर्ने कार्यका लागि ब्लास्टिङ गर्दै गर्दा ठूला/ठूला चट्टान सडकमा खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको घासा प्रहरी चौकीका ईन्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए।
सडकमा चट्टान खसेपछि पोखराबाट बेनी हुँदै मुस्ताङ आएका दर्जनौं सवारी साधनबीच सडकमै अलपत्र परेका छन्। मुस्ताङमा हिउँदयामको जाडो घटेको र कोरोना महामारीसमेत विस्तारै साम्य हुँदै गएपछि मुस्ताङमा दिनहुँ सयौँ सवारी साधन भित्रिने गरेको पाइएको छ। घासा प्रहरी चौकीका ईन्चार्ज तिमिल्सिनाले ब्लास्टिङ गर्दा खसेको ठूला/ठूला चट्टान पन्छाउन नसक्दा सडक अलपत्र भएको बताए।
उनका अनुसार सडकमा खसेको चट्टानलाई पन्छ्याउन ब्रेकरले होल खोपेर ब्लास्टिङ गरी सडक खुलाउने तयारी भइरहेको छ। उनले शुक्रबार दिउँसोसम्ममा चट्टान पन्छयाएर सडक आवागमन सूचारु गरिने बताए।
यस्तै, काभ्रेभीरमा सडक अवरुद्ध भएसँगै मुस्ताङ आउजाउ गर्ने पर्यटक बाटोमै रोकिएको राधा खनालले जानकारी दिइन्। म्याग्दी र मुस्ताङको सीमाना काभ्रभीरमा पुस १८ गतेदेखि सडक चौडा गर्ने उद्देश्यले ब्लास्टिङ गर्ने कार्य सुरु गरिएको थियो। शर्मा गजुरमुखिका अनुसार काभ्रे भीरमा करिब १६ सय मिटर जोखिम र अप्ठ्यारो सडकमा सडक चौडा गर्न रक कटिङको काम सुरु गरिएको हो।