जनता खुसी भए प्रधानमन्त्री बनाइदिन्छन् : देउवा
चितवन : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा लाग्न नेता र कार्यकर्तालाई आह्वान गरेका छन्।
कम्युनिस्ट पार्टीको विवादले अन्यौलमा परेको राजनीतिलाई छाडेर पार्टी बनाउनतिर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै देउवाले यस्तो बताएका हुन्।
अरुको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउन उनले निर्देशन दिए। प्रधानमन्त्री हुने कुरालाई चासो नदिएर पार्टीलाई मजबुत बनाउन नेतालाई उनको आग्रह छ।
गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टी भित्रको विवादको किनारा नलागेको भन्दै जनतालाई खुसी पारे मात्रै पार्टीले बहुमत ल्याउने बताए।
‘जनता मालिक हुन् । देशकको मालिक खुसी भए जिताइदिन्छन् । प्रधानमन्त्री बनाइदिन्छन् । रिसाए भने भोट नहालेर सजाय दिन्छन्’, देउवाले भने, ‘सर्वाभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो। जनताको घरमा वर्षको तीन पटक जानुहोस्, जनताले भोट हाल्छन्। भाषणमा भोट हाल्दैनन्।’
अदालत, प्रहरी प्रशासन जस्ता विभिन्न स्थानमा जनताको सुखदुखमा पुगेर सहगोग गरेर जनताको मत जिते मात्रै जनताले भोट उनको भनाइ छ।
‘अड्डा अदालत प्रहरी प्रशासनमा समस्या हुन्छ जनताको सुखदुखमा साथ दिनुहोस्, जनताको काम गर्नुहोस्। मलाई विश्वास छ जनताले भोट दिन्छन् दिन्छन्’, उनले भने, ‘यहाँ अर्ली इलेक्सनको कुरा भएको छ। जनताको घरदैलोमा पुग्नुस, दुःखसुखमा साथ दिनुस्। जनताको काम गर्नुस् जनताले भोट दिनेछन्।’
माओवादीले समर्थन फिर्ता नलिएको र संसदमा कम्युनिस्ट सरकारकै बहुमत रहेको भन्दै त्यसमा ध्यान नदिएर आफ्नो पार्टी मिलाएर जनताको घरदैलोमा केन्द्रित हुनुपर्नेमा उनको जोड रहेको छ।
‘माओवादीले समर्थन फिर्ता लिएको छैन। संयुक्त सरकार छ। पार्टी अलग बनाए पनि प्रचण्ड ओलीकै बहुमत छ’, सभापति देउवाले भने, ‘प्रचण्ड र ओलीजी र माधव नेपाल र ओलीजी कसरी अघि बढ्छन् भन्ने झगडा छ, मधेसमा पनि झगडा छ। अर्काको घरको झगडाको कुरा गर्नुभन्दा भोट ल्याउनतिर लाग्नुस् ।’
पार्टी भित्रको मतभेद छोडेर लागे पार्टीले बहुमत ल्याउने दाबी उनको छ। आफू प्रधानमन्त्री बन्न लालयीत नभएको भन्दै उनले जनताको माझ लोकप्रिय बनाउने काम गर्न सुझाए। ‘प्रधानमन्त्री बनाउन भन्दा पार्टी बनाउन लागौँ । भोलि दुई वर्षपछि भए पनि चुनाव भइहाल्छ’, देउवाले भने, ‘आपसी मतभेद छोडेर एक भयौँ भने हाम्रो पार्टीलाई बहुमत आउँछ।’
कांग्रेसमा सहमहामन्त्री तथा पूर्वमन्त्री प्रकाशशरण महतले कम्युनिस्ट सरकारसंग इमान नहुँदा देशले दुख पाइरहेको बताए। कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले नेपालमा अब कम्युनिस्टको औचित्य नभएको बताए। कांग्रेसले अब कम्युनिस्टलाई माया गरेर सहकार्य गर्न नहुने उनले बताए।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद, देवेन्द्रराज कँडेललगायत नेताले निर्वाचनको तयारीमा लाग्न सबैलाई निर्देशन दिए।
तस्बिर : अनिल ढकाल