गण्डकीको खेलकुद विकासमा बेलायतबाट संगठित पहल हुने
लन्डन : नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा सघाउने लक्ष्यमा बेलायतमा समन्वय मञ्च गठन भएको छ। गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा 'गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके' घोषणा गरिएको हो।
पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको संयोजनमा गठित मञ्चमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बेलायतस्थित विभिन्न क्षेत्रीय तथा खेलकुदसम्बन्धि संघसंस्थाको प्रतिनिधित्व रहनेछ।
मन्तव्यका क्रममा सदस्यसचिव तेजबहादुर गुरुङले आफूमा महत्वपूर्ण जिम्मेवारी आएको र केन्द्रित भएर काम गर्ने वातावरण र पहुंच भएकाले यसलाई अवसरका रुपमा लिएको बताए। कार्यक्रममा प्राप्त राय सुझाव मनन गर्दै अगाडि बढ्ने पनि उनले बताए। उनले अग्रज व्यक्तित्वहरुका माझ सम्मान पाउंदा गर्व लागेको बताउंदै आयोजकप्रति आभार समेत व्यक्त गरे।
खेलकुद मनोरन्जनमात्र नभइ अर्थव्यवस्था उकास्ने ठूलो माध्यम भएको उनको धारणा थियो। गण्डकी प्रदेशमा नेपाली डायस्पोराको सहयोग त छंदैछ, बेलायतबाट खेल विकासमा हुन सक्ने सहयोग र सहकार्यका लागि मितेरी सम्बन्ध गांस्न पनि उनले जोड दिए।
कुनै जमानामा गण्डकी अञ्चलको खेल स्तर सशक्त भएपनि अहिले खस्केकाले त्यो उकास्ने आफ्नो योजना रहेको उनले बताए। विभिन्न उमेर समूहमा खेलकुद गतिविधि विस्तार गर्ने, प्रदेश र राष्ट्रको गौरव अभिवृद्धि गर्ने गरी खेलाडी उत्पादन गर्ने आफ्नो सोच रहेको पनि उनले सुनाए।
एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आइसीसी महासचिव डा। हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङसहित बेलायतस्थित दर्जनौं संघसंस्था एवम् गण्डकी प्रदेशनिकट अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधिहरुले सहयोग र सहकार्यको प्रतिबद्धता गरेका थिए।