पर्यटकको अवैध बसाई, प्रशासनलाई छैन पत्तो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एकजना अमेरिकी नागरिक अवैधरुपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भएपनि ती नागरिक आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालीफोर्नीयाका ५२ वर्षीय प्रि जोइल आफ्नो देश फर्कन अटेर गरेका हुन् ।
भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानुनी प्रावधान छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ । अवैधरुपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूताबासमा बुझाउने कानुनी प्रक्रिया छ ।
नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूवाबासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिकहरु कानुनी प्रक्रिया पुरा गरेर आफ्नो देश फर्किएका छन् ।
२०७६ मंसिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो । त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन् ।
जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको होटलकी सञ्चालक यामकुमारी पुनले बताइन् । ‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ,’ उनले भनिन्, ‘कसरी पठाउने भन्ने अलमलमा छौं । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।’
एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्ले डुल्ने गर्छन् । स्थानीयबासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शंका गरेका छन् । कतिपय विदेशी नागरिकहरु आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापलेनै पहल गर्नुपर्ने भएपनि नगरेपछि आफैले अमेरिकी दूताबासमा लगेर बुझाइदिने तयारी गरेको बताए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैध रुपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालय बुझाइ स्वदेश प्रक्रिया अघि बढाउने बताए ।