मुस्ताङको फल्याकमा धज्याङको रौनक (फोटो फिचर)
जोमसोम : हिमाली जिल्ला मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका-५ फल्याकमा मंगलबारदेखि स्थानीय सांस्कृतिक पर्व ‘धज्याङ’ सुरु भएको छ ।स्थानीय मौलिक सांस्कृतिक पर्व धज्याङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले धनुषबाण (तारो) हानेर उद्घाटन गरे ।
हिमाली जिल्ला मुस्ताङका स्थानीय गुरुङ समुदाय महत्वपूर्ण पर्व मध्ये एक हो ‘धज्याङ’ पर्व ।तारो हान्ने अर्थात तीर हान्ने खेललाई स्थानीय भाषामा ‘धज्याङ’ भन्ने गरिएको हो । वारागुङ मुक्तिक्षेत्रको फल्याकमा ७ दिनसम्म धज्याङ पर्व मनाईने गरिन्छ ।स्थानीय गुरुङ समुदायको बाहुल्यता रहेको फल्याकमा आजबाट पर्व सुरुआत भएको हो ।धज्याङ पर्वको सुरुआत अघि गाउ मुखिया , स्थानीय आमा समुह,युवाक्लव ज्येष्ठ नागरिकलगायतको टोलीले फल्याक गाउँको समाजघरदेखि तारो हान्ने खेलस्थलसम्म परम्परागत मौलिक भेषभुषामा सजिएर बाह्गाउले स्थानीय भाषाको गीत गाउँदै पुगे ।
गीत गाउँदै तारो हान्ने खेलस्थल पुगेपछि धज्याङ पर्वको उद्घाटन गरिएको हो ।वारागुङ मुक्तिक्षेत्रको फल्याकमा करिव ७० घरधुरी छन् । धज्याङ पर्वमा वारागुङ मुक्तिक्षेत्रकी गाउपालिका उपाध्यक्ष डिकी गुरुङको विशेष उपस्थिती थियो ।
धज्याङको औपचारिक उद्घाटनपछि प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले हिमालीक्षेत्रमा मनाईने विभिन्न चाडपर्वले मुस्ताङको मौलिक कलासंस्कृतिलाई उजागर गरेको बताए ।
उनले अनेकतामा एकताको प्रतिक यसप्रकारका चाडपर्व तथा धार्मिक संस्कृतिलाई पर्यटनसंग जोड्न सकिने उल्लेख गरे ।यस्तै ,गाउपालिकाकी उपाध्यक्ष डिकी गुरुङले गुरुङ समुदायको मौलिक पर्व धज्याङ वारागुङ मूक्तिक्षेत्र देखि उपल्लो मुस्ताङका सबैजसो गाउहरुमा मनाउने गरेको बताइन् ।उनले धज्याङ पर्वमा तारो हान्ने खेलसहित नाचगान गर्ने,सांस्कृतिक विविधता पस्किने ,मिठो खाने र राम्रो कपडा लगाई आपसमा हर्षउल्लासका साथ मनाउने चलन रहेको जानकारी दिइन् ।
कृषि र पर्यटनसँग जोडिएको हिमाली जिल्ला मुस्ताङमा खेतीपाती ,पशुपालन तथा अन्य व्यापार व्यवसाय पर पन्छ्याएर पर्व मनाउने चलनचल्ती छ ।यसअघि तारो हान्ने खेल (धज्याङ) सुरु गर्नु पहिले तारो हान्ने अर्थात फ्रेम अर्थात स्थानीय भाषमा यसलाई ( बेन )को काठ प्रतिस्थापन गरिन्छ ।यस्तै तारो हान्ने बेनलाई स्थानीय सांस्कृतिक प्रचलन अनुसार पुजाआजा गरि खेल सुरु गरिन्छ ।
पूजाआजा गर्दा खेल खेल्दा कुनै अनिष्ठ नहोस् भन्ने कामना गरिएको वडाध्यक्ष राप्के गुरुङले बताए ।परापूर्व कालमा हिमाली जिल्लाहरुमा सिकार खेल्ने क्रममा तारो हान्ने सांस्कृतिक खेलको रुपमा विकशित भएको हो । मुस्ताङमा बिहानै देखि सूर्यास्तसम्म तारो हान्ने खेल सुरु हुन्छ ।साझ परेपछि नजिकैको समाजघरमा सांस्कृतिक स्याब्रो नाच मौलिक गुरुङ भाषाको गीत गाउदै रमाईलो गर्छन् ।
हिमाली जिल्ला मुस्ताङ धार्मिक ,सांस्कृतिक र कलासंस्कृतिले धनी छ ।तल्लो मुस्ताङका थकाली समुदाय देखि उपल्लो मुस्ताङको लोहा समूदायसम्मले मौलिक चाडपर्व धुमधामले मनाउने गरेको पाईएको छ ।
केही हप्ताअघि मुस्ताङको घरपझोङ गाउपालिकाको वडा ३,५ र १ को चिमाङमा तीन गाउले थकाली समुदायले त्युङ्ल्ह पर्व मनाएका थिए । यस्तै ,मुस्ताङ थाक सय क्षेत्रका थकाली ,मार्फाली समुदाय तथा अन्य थकाली समुदायले समेत फागुपूर्णिमाको अवसरमा तोरन्ल्ह पर्व मनाउने चलन रहेको छ ।
यस्तै ,मुस्ताङको वारागुङ मूक्तिक्षेत्र ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकाका गुरुङ,बिष्ट र लोहा समुदायहरुले बर्सेनि यार्तुङ ,तिजी र धज्याङ पर्व मनाउने चलन छ । जाती समुदाय तथा भूगोलका आधारमा मनाईने यसप्रकारका चाडपर्वले हिमाली जिल्लाको जातीय पहिचान ,सांस्कृतिक उत्थान र समुदायबीचको संम्वन्धलाई बलियो बनाउदै आइरहेको छ ।