ढाकामा नेपाली कलाकारको प्रस्तुति
ढाका : नेपाली कलाकार टोलीले बंगलादेशको राजधानी ढाकास्थित नेशनल परेड ग्राउण्डमा सांगीतिक प्रस्तुति दिएको छ । नेपाल र बंगलादेशका कलाकारले एउटै मञ्चमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।
बंगलादेशका राष्ट्रपिता बंगबधु शेख मुजिबर रहमानको सतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीका साथ नेपाली कलाकार टोली ढाका पुगेको थियो ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा १९ जना कलाकार राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी थिए । समारोहमा नेपाली कलाकार टोलीले राष्ट्रिय भावनामा जागृत गराउने विभिन्न नृत्य एवं मादल, बाँसुरी र सारंगीमार्फत चर्चित नेपाली लोकधुन प्रस्तुत गरेको थियो ।
वाद्यवादनतर्फ बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, मादलमा नरेश प्रजापति र सारंगीमा हरिशरण नेपाली र वर्त गन्धर्व थिए । त्यसैगरी नृत्यतर्फ शारदा सिलवाल, सवनम सिलवाल, रेखा कटवाल, माया थापा, सुशीला थापा, गीता घिमिरे थापा, सुर्या कार्की, दिपेश माझी, छलबहादुर थापा, सुजित श्रेष्ठ, सनम खड्गी, नवीन गुरुङ र शेखर घर्तीमगर थिए ।
कार्यक्रम सफल भएको महाप्रबन्धक राईले बताए । ‘स्टेट भिजिटमा सांस्कृतिक कार्यक्रमका लागि कलाकारको टोली सहभागी हुनु खुसी र गौरवको क्षण हो’, उनले भने, ‘नेपाली कलाकारको प्रस्तुतिलाई सिंगो बंगलादेशले प्रशंसा गर्यो । कलाकार टोली राष्ट्रपतिसँगै नेपाल नेपाल वायुसेवा निगमको चार्टर फलाइटमा गएका थिए ।