मुस्ताङमा स्कुल मर्ज हुने
जोमसोम : मुस्ताङका विद्यालयमा पुलमा रहेका शिक्षक दरबन्दी मिलानपछि ५० प्रतिशत विद्यालय मर्ज हुने सम्भावना देखिएको छ। सरकारले देशभर शिक्षक दरबन्दी पुनर्वितरण सुरु गरेसँगै मुस्ताङका विद्यालयहरूमा शिक्षक संख्या कटौतीपछि मर्ज गर्नुपर्ने बाध्यता आएको जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि २०७६ स्वीकृत भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक पुनर्वितरण सुरु गरेको हो। जसअनुसार मुस्ताङमा २ सय २८ जना मौजुदा शिक्षक दरबन्दीमा पुनर्वितरण गरी १ सय ४ शिक्षक कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बराल जानकारी दिए।
उनका अनुसार पुलमा रहेका प्रावितर्फ मुस्ताङको लोमान्थाङबाट २९ शिक्षकमा १५, लोघेकर दामोदरकुण्डबाट २३ शिक्षकमा १४, वारागुङ मुक्तिक्षेत्रबाट ४८ शिक्षकमा २३, घरपझोङबाट ५५ शिक्षकमा २३ र थासाङ गाउँपालिकाबाट ७३ शिक्षकमा २९ जना शिक्षक कोटा कायम गरिएको छ। योसँगै प्रावितर्फ मुस्ताङका पाँचवटै स्थानीय तहबाट कुल १ सय २४ जना शिक्षकको दरबन्दी अन्य जिल्लामा मिलान गरिने भएको समन्वय इकाइ प्रमुख बरालले उल्लेख गरे।
मुस्ताङबाट झन्डै ६० प्रतिशत पुलमा रहेका शिक्षक पुनर्वितरण हुने भएपछि मुस्ताङका विद्यालय समस्यामा परेका हुन्। मुस्ताङबाट १ सय २४ जना शिक्षक दरबन्दी मिलानमा परेसँगै हालसम्म ७७ शिक्षक पुनर्वितरण भइसकेको छ । तर, अझै ४६ जना शिक्षकको पुनर्वितरण हुन बाँकी छ। पुनर्वितरण हुन बाँकी रहेका ४६ शिक्षकमध्ये २२ जनाले दरबन्दी मिलानका लागि शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङमा सिफारिस गरेका छन्।
मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रको निमावि तहको विद्यालयमा खुद पुलमा रहेको शिक्षक दरबन्दी छैन। तर, निमावितर्फ मुस्ताङको घरपझोङमा मौजुदा १५ शिक्षकमा १० र थासाङमा २१ शिक्षकमा ८ जना मात्र शिक्षक कायम गरिएको छ। यस्तै, मावि तहतर्फ लोमान्थाङमा मौजुदा ६ शिक्षकमा ५, वारागुङ मुक्तिक्षेत्रमा ६ मध्ये ४, घरपझोङमा १३ मा १२ जना र थासाङमा १७ मा १३ शिक्षक दरबन्दी कायम गरिएको समन्वय इकाइले जनाएको छ।
योसँगै लोमान्थाङमा प्रावि र मावि गरी १५ जना, लोघेकरमा प्राविका ९ जना, वारागुङमा प्रावि र माविमा २७ जना, घरपझोङमा मावि, निमावि र मावि गरी ३८ जना र थासाङमा प्रावि, निमावि र मावि गरी ६१ जना पुलमा रहेका शिक्षक कटौती गरी पुनर्वितरण गरिने भएको हो।
मुस्ताङमा ५१ सामुदायिक विद्यालय छन्। लोमान्थाङमा एक माविसहित १०, लोघेकरमा एक निमाविसहित ८, वारागुङमा एक मावि, २ निमाविसहित १३, घरपझोङमा दुई मावि, एक निमाविसहित ८ र थासाङमा ३ मावि, २ निमाविसहित १२ विद्यालय छन्।
सरकारले पुलमा रहेका शिक्षक दरबन्दी पुनर्वितरण गरेसँगै मुस्ताङमा प्रावि तहका अधिकांश विद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको शिक्षा विकास तथा समन्वय इकाइले बताएको छ। मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गापाले मानसिक रूपमा विद्यालय मर्ज गर्ने तयारी गरिसकेका छन्।
उनीहरूले आगामी शैक्षिक सत्रदेखि मर्ज गरी बाँकी रहेका विद्यालयमा आवासीय सेवा सञ्चालन गर्ने जनाएका छन्। तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गापाले भने यसबारे कुनै योजना तयार गर्न सकेका छैनन्। थासाङमा दुई निमावि तहका २१ शिक्षकमध्ये १३ जनाको दरबन्दी मिलान भएकाले निमावि सञ्चालनमा समस्या पर्ने उनले बताए।