मोडल हन्ट नेपाल–२०२१ : प्रवीण र अनिशाले जिते उपाधि
काठमाडौं : ‘मोडल हन्ट नेपाल–२०२१’ को उपाधि प्रवीण चापागार्इं र अनिशा शाक्यले जितेका छन्। होटल सोल्टी क्राउन प्लाजामा शनिबार अबेर सम्पन्न प्रतियोगितामा प्रवीण पुरुष र अनिशा महिलातर्फको शीर्ष उपाधि विजेता घोषित भएका हुन्।
प्रतियोगिताको यो छैटौं सिजन हो। यो सिजनमा ३४ युवा एवं ३२ युवती अन्तिम प्रतिस्पर्धामा थिए। प्रतियोगितामा पुरुषतर्फ फस्ट रनरअप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिलातर्फ श्रीयशी श्रेष्ठ फस्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप थिए।
प्रतिस्पर्धीले आईसी कलेज अफ आर्ट एन्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरले तयार पारेका पहिरनमा सजिएर र्याम्प नापेका थिए।
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाईं र राजश्री कार्की बेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी बेस्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मिस्टर एन्ड मिस मल्टिमिडिया प्रतिभा गुरुङ र कबिर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए। यसैगरी, विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने बेस्ट फिजिक र अदीति मानन्धर बेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रूपमा छनोट भएका थिए।
आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल हो।
रवि धमला र एत्ना पाण्डे निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए। करिब पाँच साताको विभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो।
प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन्। यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन विकलगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।