गुम्सिएरै बस्न बाध्य मुस्ताङ कारागारका कैदी-बन्दी

गुम्सिएरै बस्न बाध्य मुस्ताङ कारागारका कैदी-बन्दी

जोमसोम : हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित कारागारमा सुरक्षा मापदण्ड कमजोर हुँदा त्यहाँ रहेका एक दर्जन कैदी-बन्दी लामो समयदेखि कारागार भित्रै गुम्सिन बाध्य छन्। झन्डै ४ रोपनी क्षेत्रफलमा फैलिएको मुस्ताङ कारागारको भौतिक संरचना कमजोर हुँदा त्यहाँ रहेका कैदी-बन्दी २ कोठे भवनमै २४ सै घण्टा गुम्सिन बाध्य भएका हुन्।

२०३७ सालमा स्थापना भएको मुस्ताङ कारागारको कम्पाउन्ड कमजोर र होचो भएकाले कारागारमा सुरक्षा चुनौति थपिएको हो। कम्पाउन्डको चारैतिर तारबार लगाएको भए पनि मापदण्ड अनुसारको कारागारको भौतिक पूर्वाधारको अभाव कायमै छ। सो कारागारको आवश्यक सुरक्षा संरचना पर्याप्त नहुँदा कारागार प्रशासनले कैदी-बन्दीलाई कारागार भित्रै गुम्साएरै राख्नु पर्ने बाध्यता रहेको छ। 

यसले कैदी—बन्दीको सामान्य हिंडडुल गर्न पाउने मानवअधिकार समेत कार्यान्वयन भएको पाइँदैन। उनीहरुलाई  खुट्टा तन्काउन हिंडडुल गर्ने तथा आयआर्जनका अन्य क्रियाकलाप गर्नमा समेत समस्या पर्दै आइरहेको कारागारका निमित्त जेलर संञ्जय शर्माले जानकारी दिए।

मुस्ताङ कारागारमा कैदी बन्दीलाई दिउँसो घाम ताप्न हट रुममै सीमित राखिएको छ। कैदी—बन्दी भाग्न सक्ने डरले उनीहरुलाई कोठा भित्रै सीमित राखिएको हो।  

कारागारको कैदी—बन्दी, सुरक्षाकर्मी र कर्मचारी बस्ने भौतिक संरचना समेत जीर्ण छ। कैदी—बन्दी, सुरक्षाकर्मी र कर्मचारी बस्ने ७ कोठे भवन ढुङ्गा र माटोले निर्माण भएको हो। भवनको छतमा सख्खर माटो बिच्छ्याएको छ भने २ कोठे हट रुम जस्ताले छाइएको छ। जीर्ण भवनमा बस्ने कैदी-बन्दी, सुरक्षाकर्मी र कर्मचारीले हिउँदयामको हिमपात, हावाहुरी, जाडो थेग्न समेत मुस्किल पर्छ। पानी पर्दा भवन समेत चुहिने गर्छ। भवनको अवस्था अत्यन्तै नाजुक हुँदा आनन्दले सुत्न समेत उनीहरुले पाउँदैनन्।
 
कारागार भवन सानो आकारको हुँदा क्षमताभन्दा बढी कैदी-बन्दी बस्न बाध्य छन्। १० जना कैदी-बन्दी अट्ने कारागारमा कुनै बेला २६ जनासम्म राखिएको थियो। अहिले १३ जना पुरुष कैदी-बन्दी छन्। कारागारमा दरबन्दी अनुसार कर्मचारी र सुरक्षाकर्मी अभाव छ। एक जना असइको कमाण्डमा २० जना सुरक्षाकर्मी दरबन्दीमा अहिले १० जना मात्र छन् भने एक जेलरसहित ७ जना कर्मचारी दरबन्दीमा ४ जना मात्र कर्मचारी छन्।

१ जेलर, १ ख्रिदार, १ अहेब, १ लेखापाल, १ सहायक कम्प्युटर अपरेटरमा एक जेलर, एक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी मात्र छन्।
झन्डै २९ वर्ष पुरानो मुस्ताङ कारागारको जीर्ण भौतिक संरचना तथा कारागारको कम्पाउन्ड स्तरोन्नति गर्न कारागार व्यवस्थापन विभाग तथा अर्थमन्त्रालयले चाँसो नदिएको मुस्ताङ कारागारले उल्लेख गरेको छ।

मुस्ताङ कारागारमा कैदी-बन्दीलाई खेलकुदका सामाग्री उपलब्ध छैन भने कारागारमा पुस्तकालय समेत छैन। पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङले कारागारका कैदी-बन्दीलाई आन्तरिक आयआर्जनको लागि १५ दिने सीप विकास तालिम दिएको छ। कार्यालयले कैदी-बन्दीलाई मुडा बनाउने तालिम दिएको कारागारले जनाएको छ। तालिम पाए पनि बाँस पाउन अप्ठ्यारो पर्ने र बजारमा मुडा सहजै बिक्री नहुने भएकाले समस्या परेको कारागारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.