मुस्ताङमा विद्युत सेवा अवरुद्ध
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा गत सोमबारदेखि केन्द्रीय विद्युत प्रशारण लाइन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको स्तरोन्नति गर्ने क्रममा विद्युत तथा इन्टरनेट सेवा प्रभावित बनेको हो ।
उत्तर-दक्षिण जोड्ने कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडकको सडक खन्ने क्रममा निर्माण कम्पनीको चरमलापरवाहीका कारण विद्युत तथा इन्टरनेट सेवाको भौतिक संरचनामा क्षति पुगेपछि मुस्ताङमा विद्युत तथा इन्टरनेट सेवा अनियमित बनेको सम्बन्धित कार्यालयले जनाएका छन् ।
जोमसोमस्थित विद्युत वितरण केन्द्रका कार्यालय प्रमुख सनप्रसाद थकालीले सडक स्तरोन्नति गर्ने क्रममा निर्माण कम्पनीले चरमलापरवाही गरेको सामाजिक संञ्जालमा उल्लेख गरेका छन् । उनले मुस्ताङको घासा स्थित कैकु खोलाको रिभरक्रस ५ सय मिटरक्षेत्रमा राखिएको दर्जनौं विद्युतीय पोलमा क्षति पुगेको जनाएका छन् ।उनका अनुसार केन्द्रीय विद्युत पोलमा क्षति भएपछि मुस्ताङको थापा खोला हाइड्रो पावरको विद्युत कनेक्सन संञ्चालन नभएको र स्थानीय लोकल विद्युत उत्पादनबाट कामचलाउ गरिएको छ ।
यस्तै ,नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख सुमनराम श्रेष्ठका अनुसार म्याग्दीहुँदै मुस्ताङ जोडिएको उच्च गतिको फाइबर नेटको ५ सण्य मिटर अल डायल्ट्रिक सेल्स सपोर्टं केवल सडक निर्माणका क्रममा क्षति पुगेको छ । उनले फाइबर नेट मर्मत गरी सेवा संञ्चालनमा आउन केही दिन लाग्न सक्ने जानकारी दिए ।
मुस्ताङको थासाङ—३ कैकु खोलामा सडक खन्ने उपकरणले सडक स्तरोन्नति गर्ने क्रममा सुख्खा पहिरो जाँदा इन्टरनेट र विद्युतीय संरचनामा क्षति पुगेको हो । बेनी-जोमसोम सडकको प्याकेज-२ मा शर्मा गजुरमुखी जेभीले सडकको काम गरिरहेको छ । सडक स्तरोन्नति तथा कमजोर भूवनोटका क्रममा पटक -पटक सुख्खा पहिरो विद्युतीय तथा इन्टरनेटमा क्षति पुग्ने गरेको छ ।
यस्तै जिल्ला सुरक्षा समिति मुस्ताङले गत १४ गते देखि १९ गतेसम्म सडक मर्मत गर्न सडक आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।