६ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
जोमसोम : सडक स्तरोन्नतिका लागि बन्द गरिएको राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडक ६ दिनपछि शुक्रबार बिहान सञ्चालनमा आएको छ ।मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र काभ्रेभीर र मुस्ताङको थासाङ-३ कैकु खोलाको सडक बेस स्तरोन्नति गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्याललय मुस्ताङले बेनी-जोमसोम सडक पूर्ण रुपमा बन्द गरेको थियो ।
जिल्ला सडक सुरक्षा समिति मुस्ताङले बेनी-जोमसोम सडक पहिलो पटक चैत्र १४ गते देखि १७ गतेसम्म बन्द गरेकोमा तोकिएको समयमा सडक मर्मत नसकिपछि दोश्रो पटक थप २ दिन म्याद थपेको थियो ।
कालिगण्डकी करिडोर अन्र्तगत शर्मा गजुरमुखी जेभीले जिम्मा लिएको सडकमा निर्माण कम्पनीका उपकरण र जनशक्ती प्रयोग गरी सडक आवागमन सूचारु गरिएको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए । सडक स्तरोन्नतिका लागि बन्द गरिएको बेनी-जोमसोम सडक खुलेपछि मुस्ताङबाट लामो तथा छोटो दुरीका यातायातका साधन गन्तव्यतर्फ प्रस्थान गरेको सुपरभाइजर शेरचनले जानकारी दिए ।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । म्याग्दी र मुस्ताङको प्रबेशद्धार काभ्रेभीर मुस्ताङ प्रबेश गर्ने जोखिमयुक्त सडक हो । सो स्थानमा आयोजनाले १५ सय मिटर सडक माथिको रक कटिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै ,सडक निर्माणका क्रममा मुस्ताङको कैकुमा सुख्खा पहिरो जादा बेनी—जोमसोम सडक अवरुद्ध भएको थियो । आयोजनाले लगातार ६ दिनको सडक मर्मतपछि बेनी-जोमसोम सडक संञ्चालनमा आएको हो ।
हिउदयामपछि चाडपर्व नजिकिँदै गरेको र मुस्ताङमा पर्यटकीय चहल-पहल बढेको अवस्थामा सडक बन्द हुदा सयौ यात्रु बिचल्लीमा परेका थिए । सडक बन्दले मुस्ताङको पर्यटनक्षेत्र समेत प्रभावित बनेको थियो ।