लिम्पियाधुरा–लिपुलेकको प्रतिबिम्ब
‘नेपालको सम्बन्धित ऐतिहासिक सीमा संग्रह’ बुद्धिनारायण श्रेष्ठको पछिल्लो कृति हो। भारतले नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नक्सा जारी गरेपछि र नेपालले लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा प्रकाशन गरेपछि उनको यो पुस्तक बाहिर आएको हो। नेपाल–भारत वार्ताका लागि प्रमाण हुने सन्दर्भ सामाग्री र नक्सा समावेश गरेर पुस्तक तयार पारिएको छ जसमा ९० वटा नक्सा संग्रहित छन्। ९० मध्ये ४४ नक्सा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे छन्। नक्साबाहेक व्रिटिसकालीन केही चिठीपत्र र पुराना कागजात प्रमाण पनि छन्।
नापी विभागका पूर्वमहानिर्देशक श्रेष्ठ नेपालको सीमा र नक्साको विषयमा राम्रो दखल भएका सीमाविद् हुन्। नेपालको सिमाना, सीमा संग्रम, जंगे–बुद्धे, सिमानाको ज्ञान, इन्टरनेशनल बाउन्डरी अफ नेपाल, जंगे सीमा खम्बाको गन्तीजस्ता दर्जन पुस्तक उनका छन्। चुच्चे, बुच्चे, थेप्चे, खुँडे, फुर्के नक्साको विषयमा उजागर गरिएको छ। नेपालको नक्सा कसरी बुच्चे भयो अर्थात् नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा कसरी गायब भयो भन्ने विषयमा केही कुरा बाहिर ल्याइएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहायतामा नापी विभागअन्तर्गतको नापी महाशाखाद्धारा सन् १९७६ देखि नेपालको नक्सा नेपालमै तयार पारी प्रकाशन सुरु गरिएको पाइन्छ। नक्सा तयार पार्दा नेपालको उत्तर पश्चिमी सीमा कहाँ पुर्याउने भन्ने कुरामा प्राविधिक अध्ययन भएको पुस्तकमा उल्लेख छ। अध्ययनमा सन् १८६० मा सर्भे अफ इन्डियाले प्रकाशित गरेका नक्सा र सुगौली सन्धीको मनसाय अनुसार लिम्पियाधुराबाट उद्गम भएको नदीलाई काली अंकन भएको देखिएको पुस्तकमा छ। लिपुलेक भन्ज्याङ नजिकैबाट निस्केको नदी लिपु नदी भनिँदो रहेछ, सन् १८६० भन्दा पछिका केही नक्सामा काली नदीलाई कुुटियाङ्दी र लिपु नदीलाई काली भनी नामाकरण गरिएका पनि रहेछन्। यसभन्दा पछि सर्भे अफ इन्डियाबाट प्रकाशित केही नक्सामा टिंकर भन्ज्याङपश्चिम रहेको काली मन्दिरबाट पानी बटुलिएर बनेको सानो खोल्सीलाई काली नदी भनिएको पनि बुझिन आयो।
पुस्तकका अनुसार सबै प्राविधिक विवरण उल्लेख गरी दार्चुला जिल्लाको पश्चिम उत्तरी सिमान्त रेखा कहाँबाट खिच्ने भन्ने द्धिविधा परेकाले निक्यौलका निम्ति नापी महाशाखाले टिप्पणी फाइल खडा गरी नापी विभाग पठाएको बुझिएको छ। विभागले अगाडि बढाएको फाइल मन्त्रालय तथा मन्त्री हुँदै राजदरबार नारायणहिटी पठाएको हुनसक्ने उल्लेख छ। फाइल सदर भएर फिर्ता आउन समय लागेकाले महाशाखामा कार्यरत संयुक्त राष्ट्रसंघबाट आएका प्रोजेक्ट मेनेजर एचई काल्लावेले फाइलबारे ताकेता गरेको बुझिन्छ। नापीका तत्कालिन महानिर्देशक अर्जुनबहादुर बस्न्यातले दरबारमा सम्पर्क गर्दा फाइल तत्कालीन शाही नेपाली जंगी अड्डा पठाइएको चाल पाएर त्यहाँ पनि ताकेता हुँदा केही सातापछि फाइल फिर्ता भएको पनि उल्लेख छ।
‘नेपालको पश्चिम उत्तरी क्षेत्रमा पुग्न नसकेको देखिन्छ तर लिम्पियाधुराको विषय स्पष्ट पारिएको छैन। दरबारबाट फाइल फर्किदा नै लिम्पियाधुरा गायब भएको आसय पुस्तकमा छ। नेपालको नक्साबाट लिम्पियाधुरा गायब हुनको अर्को प्रसंग पनि उनले पुस्तकमा छ। पूर्वजर्नेल तथा पूर्वराजदूत भरतकेशर सिंहले २०५९ भदौ २८ मा श्रेष्ठसँगै भनेका विषय पनि राखिएको छ। सिंह सन् १९६१–६२ मा नेपाल चीन सीमांकनमा संलग्न थिए, विभागबाट नक्सांकन फाइल नेपाली सेनामा पुग्दा सिंहले त्यो फाइल हेरेका रहेछन्। त्यस बेला सिंहले कालापानी नेपालको हो नेपालमै पार्नुपर्छ भनेका रहेछन्। नेपालको नक्सामा लिम्पियाधुरा समावेश नहुनु तत्कालीन शाही नेपाली सेनाका जर्नेल भरत केशरसिंह जिम्मेवार रहेको पनि पुस्तकमा छ।
नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीको भनाइलाई पनि पुस्तकमा राखिएको छ। नक्सा पाउने जिम्मा पाएको ओलीले तीनवटा सिटमा राखेर नेपालको सम्पूर्ण नक्सा तयार पारेका थिए। त्यतिखेर उनी नापीअधिकृत थिए। ओलीको टिमले कालापानी र सुस्ताको नक्सामा खाली राखेर बाँकी तयार गर्यो। लिम्पियाधुरासम्म राख्ने मनसायले उक्त भाग खाली राखेर नक्सा तयार भयो। पुस्तकमा उल्लेख छ, ‘दरबारले भन्यो तपाईहरूलाई आफ्नो देशको सिमाना थाहा छैन ? किन खाली राखिएको ? पछि कालापानीसमेत समेटेर लिपुलेकसम्मको नक्सा बनाउने आदेश आयो।’
यसरी नेपालको नक्साबाट लिम्पियाधुरा गायब भएको तीन तथ्य पुस्तकमा उल्लेख छ। तीनै तथ्य र प्रमाणले नेपाल नक्सा बुच्चे भएको बुझिन्छ। २०७७ जेठ ७ गते नेपाल सरकारद्धारा जारी गरिएको लिम्पियाधुरासहितको नयाँ नक्सालाई पुस्तकमा फुर्के नक्साको नाम दिइएको छ। सुस्ता क्षेत्रको नक्साको विषयमा पनि पुस्तकमा उठान गरिएको छ। जसमा नापी विभागबाट प्रकाशित नक्सामा सुस्ता क्षेत्र ‘नारायणी नदीको भागमा क्षेत्रीय नापी समाप्त नभएकाले अन्तर्राष्ट्रिय सीमा रेखा अंकन गरिएको छैन भनी उल्लेख छ। यस विषयमा त्रिविवि भूगोल विभागका डा. मंगलसिद्धि मानन्धरले नक्सा हेर्दा थाहा पाएको विषय पनि छ।
‘मानन्धरले तत्कालिन भूमिसुधारसचिवलाई पत्र लेख्दै सुस्तालाई विवादित क्षेत्र भन्नु हुँदैन। यो क्षेत्र नेपालभित्रै पारेर अंकन गर्नुपर्छ भनी सुझाव दिएकाले तयार भएको नक्साको विवरण सच्चाई सुस्तालाई नेपालभित्रै पारी नक्सा प्रकाशित गरिएको छ।’ पुस्तकमा उल्लेख छ। मौकाको सुझावलाई कार्यान्वयन गरिएकाले सुस्ता क्षेत्रको अस्तित्व जोगिएको छ। निशाना छापमा नेपालको सीमा खुट्याइएको नक्सा पर्नुमा संविधान निर्माता पनि दोषी देखिने पुस्तकमा छ। नेपालको संविधानमा नक्सा समावेश हुनुपर्ने जिकिर पनि गरिएको छ।
पुस्तकमा नेपालको तत्कालीन संख्या विभागले जनगणनाका लागि २०१५ सालमा तयार गरिएको नक्सा पनि राखिएको छ। २०१८ सालमा व्यास क्षेत्रको जनगणना अधिकृत पत्रकार भैरव रिसालले गुन्जी, कुटी, नाभी, जोलिङकाङको जनगणना गराएको प्रसंग पनि छ। पुस्तकमा छ, ‘रिसाल भन्छन्– यसबेला लिम्पियाधुरा क्षेत्रमा नावी, गज्र्याङ, गोविजी लगायतका विभिन्न नाम थिए, ती सबै क्षेत्रको जनगणनामा गराएको हुँ।’ २०३८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी डा. द्धारिकानाथ ढुंगेलले गुन्जी हुँदै कालापानी क्षेत्र पुगेर फर्केपछि तयार पारेको केन्द्रलाई लिम्पियाधुरा नेपालकै हो भन्नेसहित प्रतिवेदनमार्पmत जानकारी गराएको पुस्तकमा छ। योगी नरहरीनाथको सन्धिपत्रमा उल्लेख भएका १२ व्यास १४ चौदासका गाउँको बारेमा पनि पुस्तकमा संक्षिप्त जानकारी छ। सत्यमोहन जोशीले २००६ सालमा नेपालको पहिलो नक्सा तयार पारेको प्रसंग पनि उजागर गरिएको छ।