सेती नदीमा डुबेर एकजनाको मृत्यु
डोटी : डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सबओभरसियर पहिलो वर्षमा अध्ययनरत २२ वर्षका दिपेन्द्र सिं धामीको शनिबार दिउँसो करिब १२ बजेतिर डुबेर मृत्यु भएको दिपायल ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक रूप सिं थापाले जानकारी दिए।
दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ स्थायी घर भएका मृतक धामी केही महिनादेखि प्राविधिक शिक्षालयमा अध्ययन गर्दै आइरहेका थिए। शिखर नगरपालिका-१ कालागाड स्थित सालमुनी मन्दिरमा आफन्तकोमा पूजामा गएका मृतक धामी छेउमै बग्ने सेती नदीमा साथीहरूसँग पौडी खेल्न गएका र पौडी खेल्न नआउँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
दार्चुला उनका आफन्तलाई खबर भइसकेको र आफन्त आएपछि मृतकको लाश जिम्मा लगाइने प्रहरीले जनाएको छ।