कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीले राजीनामा दिने
काठमाडौं : कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का तीन मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले सरकारमा रहेका एमालेका तीन मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो।
कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको बताएका थिए। कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्।
आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदलसमेत बनाएको छ। कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन्। आइतबारको बैठकले चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको थियो। पार्टी केन्द्रमा असहज स्थिति देखिएको भन्दै बैठकले एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
संसदीय दलको अर्को बैठक चैत २४ गतेका लागि बोलाइएको छ। सर्वोच्च अदालतले नेकपा विवादको फैसला गर्दै माओवादी केन्द्र र एमालेलाई अलगअलग दल बनाएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो।