‘आदर्श नारी’ निर्देशकलाई लाइफ टाइम

काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजले राजधानीमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३औं साधारणसभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतिथ्यमा चलचित्र निर्देशकहरू युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पुरीलाई चलचित्र सर्जक सम्मान गरियो ।
समारोहमा युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो । लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित निर्देशक हेमबहादुर लामाले निजी क्षेत्रबाट चलचित्र बन्न थालेपछि ‘आदर्श नारी’को निर्माण तथा निर्देशन गरेका थिए ।
‘आदर्श नारी’ले थुप्रै कलाकार, गायक, गायिका तथा संगीतकारलाई समेत पहिलो ब्रेक दिएको थियो । अभिनेता विजय लामाले यही चलचित्रबाट डेब्यु गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही चलचित्रबाट ब्रेक पाएका थिए । आदर्श नारीमा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो । बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा कलाकार तथा वरिष्ठ क्याप्टेन विजय लामा भावुक बनेका थिए । ‘चलचित्र जगत्ले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।
समारोहमा समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो भने स्रष्टालाई रेड कार्पेटमा स्वागत गरिएको थियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । आफूले अक्षय कोषमा सहयोग गर्न नपाएकोमा दुःखी हुँदै वरिष्ठ निर्देशक नीर शाहले फिल्मकर्मी अझै व्यावसायिक बन्न नसकेको धारणा व्यक्त गरे । निकै व्यवस्थित र साजसज्जासहित आयोजना गरिएको उक्त कार्यक्रममा निर्देशक समाजका सदस्यलाई सदस्यता लिनेबित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।
समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहनुभएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. घनश्याम खतिवडा तथा निर्देशक दिनेश डीसीलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
