ताराको ‘पल पल’मा भुवन र शिशिर

काठमाडौं : गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो निर्माण गरेकी छन्। सोमबार रिलिज भएको ‘पल पल’ बोलको गीतमा तारा आफैंले अभिनयसमेत गरेकी छन्। गीतमा गैरे सुरेशले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द छ। गीतका एरेन्जर राजन ईशान हुन्।
भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय छ। शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भीएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ। वरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्सनले भिडियो निर्माण गरेको हो।
भिडियोकी निर्देशक, गीतकार तथा अभिनेत्री अधिकारीले आफ्ना राम्रा गीतमा आफूले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताइन्। वरिष्ठ अभिनेत्री भुवन थापा चन्दले भिडियो निर्देशनमा ताराको भविष्य गीतकारका रूपमा जस्तै राम्रो रहेको बताइन्। चन्दले कोरोना कहरबीच आफू तत्काल सिनेमाको मुडमा नरहेको बताइन्। यो समयमा केही म्युजिक भिडियोका लागि समय दिएको उनले जनाइन्।
अभिनेता शिशिर भण्डारीले गीत राम्रो लागेर आफूले भिडियोमा काम गरेको बताए। लकडाउनमा दुईवटा सिनेमामा काम गरेका भण्डारीले अहिले म्युजिक भिडियोमा बढी फोकस रहेको बताए। रियल लाइफमा डाक्टर बन्ने चाहना रहेको बताउने उनले म्युजिक भिडियोमा त्यो सपना पूरा भएको बताए।
प्रतिक्रिया दिनुहोस !
