कर्णालीमा अविश्वास प्रस्तावमाथि मतदान हुँदै, कांग्रेसले मुख्यमन्त्रीलाई सघाउने
सुर्खेत: कर्णालीमा कांग्रेस ले मुख्यमन्त्रीको पक्षमा मत दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिँदै छन् । यसका लागि अहिले प्रदेश सभाको बैठक चलिरहेको छ ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । यही कारण उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया चलिरहदा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुले मुख्यमन्त्रीको पक्षमा मत दिने बताए । आफूहरुले सत्ताका लागि नभइ प्रदेश सभामा माओवादी कमजोर अवस्थामा रहेकाले पक्षमा मत दिने उनको भनाइ छ ।
३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैका सभामुखसहित २० सांसद छन् । यस्तै माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । प्रदेश सभामा एक्लै बहुमत भएकाले एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत गरिरहेको छ ।
काँग्रेसले मत दिने भएपछि मुख्यमन्त्रीको पक्षमा १८ मत पुगेको छ । उनलाई विश्वासको मतका लागि अब दुई सांसद अगुग छ । यद्यपी माओवादीले एमालेका सांसदले फ्लोर क्रस गर्ने अपेक्षा गरेको छ । अहिले प्रदेश सभाको बैठक जारी छ ।