पुतली र मास्कोफेसन
काठमाडौं : परिमार्जन र परिवर्तन नै फेसनको आकर्षक पक्ष हो। यही विषय पछ्याउँदै नमुना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफूलाई र्याम्पमा प्रस्तुत गरे। चार वर्षे फेसन डिजाइनिङ कोर्स पूरा गरेका नमुनाका विद्यार्थीले मास्क र पुतली प्रयोग गरेर पहिरन प्रदर्शन गरे।
हरेक पहिरनसित सुहाउँदो मास्कसहित मोडलहरू मञ्चमा उत्रिँदा कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रूपमा सम्बोधन गर्न खोजिएको अनुभव भयो। फेसनसोमा मोडलले लगाएको पहिरनकै हुबहु नक्कल गर्दै पुतली पनि प्रस्तुत गरिएको थियो।
‘अस्तित्व’ शीर्षकमा सञ्चालन गरिएको ग्र्याजुएसन फेसन सो नमुना कलेज अफ फेसन टेक्नोलजीकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरू रनवेमा उपस्थिति भएका थिए।
कार्यक्रमअन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरन प्रदर्शन गरिएको थियो। ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सिर्जनाकर्ताहरू पनि ७९ जना नै थिए। उनीहरू नमुना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५औं ब्याचका विद्यार्थी डिजाइन हुन्। कार्यक्रममा प्रदर्शित पहिरनमार्फत एकै पटक एउटै मञ्चमा नारीको बोल्ड एन्ड ब्युटिफुलदेखि सेक्सी एन्ड ग्ल्यामरस छवि प्रस्तुत भएको थियो।
कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा सञ्चालन गरिएको फेसन सोमा समेटिएका ७९ वटा पहिरनलाई आठवटा विभिन्न सिक्वेन्समार्फत प्रदर्शन गरिएका थिए। २० जना युवती मोडलले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए।