मानसाग्नि, स्वधर्म र दिव्यलोक
एकपटक फुट्यो भने दुर्जन कहिल्यै जोडिन सक्दैन, माटोको गाग्रोजस्तै। सज्जन हजारपटक फुटे पनि जोडिन सक्छ, तामाको गाग्रीजस्तै। तामालाई अग्निमा राखेर तताएपछि पग्लिन्छ र शुद्ध बन्दछ, तापको रापबाट निर्मल बन्दछ। माटोको गाग्रो अग्निमा राखेर जति तताए पनि पग्लँदैन। तापको रागबाट झन् कडा र हीन बन्दछ। डा. मानसाग्नि तामाको गाग्री लाग्दछन् मलाई। उनको प्रार्थना युग परिवर्तनको बीजजस्तै छ, उनको चैतन्य जीवन र जगत्को रूपान्तरण गर्ने गुणस्तरको छ, उनको सोच महासागरको गहिराईसरह छ, उनको बुझाई पृथ्वी झैं फराकिलो छ अनि उनको दिव्यदृष्टि आकाशजस्तै फराकिलो छ।
‘अर्काको आँखा फोर्नुभन्दा पहिले एकपटक आफ्नो आँखा चिम्लेर यस जगत्लाई हेर्ने मानिस आनन्दित हुन्छ। मानिसले आफूलाई नचिनेसम्म संसारलाई चिनेर आनन्दित हुन सक्दैन।’ उनको यो वाणीले पनि माथि उनीबारे गरिएको प्रसंसाको पुष्टि मिल्छ। उनी अरूलाई हेर्नुअघि आफूलाई नियाल्दछन्। आफूलाई उनले चिनेका छन् र त अरूसँगको उनको व्यवहारमा ‘तलमाथि’ छैन। उनलाई प्रष्ट थाहा छ, सुखदु:ख सोचको उपज हो। उनको ह्दयमा काँडा छैन, त्यसैले उनले कसैलाई घोच्दैनन् बरु घोच्नेहरूका लागि फूल बनिदिन्छन् ताकि त्यो काँडा पनि फूलको छेउमै रहेर पनि नघोची बस्न सकोस्। यो उनको जीवनको दर्शन हो भन्ने मेरो संगतले भन्छ। उनकै वाक्यले पनि उनको सोचलाई प्रस्ट्याएको छ, ‘मानिस आफ्नो दु:खबाट त्यति दु:खी छैन, जति अरू सुखी भएको देखेर दु:खी छ।’
अरूलाई बदल्नेहरूसँग मानसाग्निको पार्टी मिल्दैन। उनको पार्टीको सिद्धान्त छ, आफैंलाई बदल्नुपर्छ। उनको पार्टी कुनै राजनीतिक हैन, न कुनै समुदायको वा त्यस्तै भीडको ! स्वधर्ममा रहने, स्वार्थरहित जीवन जिउने, सकारात्मक सोच राख्ने, सम्बन्ध सुमधुर बनाइराख्ने, खुसी र सुखी जीवन जिउने र जिउन प्रेरित गर्ने, स्वच्छ र सन्तुलित समाजसेवा गर्ने आदि आदि उनका पार्टीभित्र अटाउँछन्। उनी कुनै पनि मानवलाई कस्तो देख्न चाहन्छन् ? मेरो दसक लामो संगतले बुझेअनुसार हरेक मानिस बुद्ध बनोस् बुद्धिष्ट होइन, ईसा बनोस् ईसाई होइन, महावीर बनोस् जैन होइन, नानकदेव बनोस् सिख होइन भन्ने डा. मानसाग्निको भित्रि इच्छा छ। प्रत्येक मानिसभित्र सम्भावनाको महासागर देख्छन् उनी र संगतमा आउनेलाई सोहीअनुसार शिक्षा दिन्छन् ताकि त्यो सम्भावनाको संसारमा ऊ पौडी खेलोस्। कुनै नागरिक आफूमा सही छ र सम्भावनाका पोकाहरू खोल्दछ, समाज स्वत:स्फूर्त सभ्य र समृद्ध बन्दै जान्छ। मेरो बुझाईमा सायदै मानसाग्निको मत फरक होला।
म मानसाग्निको बाहिरी रूप र आवरणको खोक्रो चर्चा गरेर अपमान गर्न चाहन्नँ, नभएका कुरा बटुलेर रित्तो भकारी पनि भर्न चाहन्नँ, प्रसंशाका पत्रहरू चढाएर भगवान् बनाउन पनि मन छैन, कमजोरी खोतलेर च्यातिएको फूल झैं भूइँभरि छरप्रस्ट पार्नु पनि छैन, न मलाई अरूको सुख छिनेर सुखको संसार सजाउनु छ न त अरूलाई दु:खी बनाएर पीडाको पहाड नै चढ्नु छ। कुराकानीका क्रममा मानसाग्नि अर्थात् हरिप्रसाद पोखरेलले भनेका वाक्य ताजै छन्, ‘अरूको सुख छिनेर प्राप्त भएको सुखले तिमीलाई कहिल्यै सुखी बनाउन सक्दैन। अरूलाई सुखी बनाउन गरेका हरेक दु:खहरू तिमा लागि सुख र आनन्द बनेर बर्सिनेछन्।’ संगतले मैले पनि आफूलाई सुखी बनाउन पहिले अरूलाई सुखी बनाउनु पर्छ भन्ने नै बुझेको छु। उनको ‘आध्यात्मिक व्यक्तित्वले आफू दु:ख र पीडामा हुँदा पनि अरूलाई सुखी र पीडामुक्त देख्न चाहन्छ’ भनेको भुलेको छैन। यस्ता महान् वाणी जन्माउने स्रष्टा मानसाग्नि एउटा फलेको वृक्ष हो, जो आफू निहुरिएर अरूको शिर ठाडो बनाइराख्छ। यतिबेला कविशिरोमणि लेखनाथ पौड्यालको सम्झना छताछुल्ल बनिदिन्छ, ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’
सम्भवत: कुनै मानिस पनि दु:खी हुन चाहँदैन। सुखको खोजीमा अरूको सुख खोस्न चाहन्छ, खोस्छ। आफूलाई दु:ख भयो भने अरूलाई झनै दु:ख दिनुपर्छ भन्ठान्छ। आफू भत्किन र मासिन थाल्यो भने ऊ अरूको पनि त्यही गति होस् भन्ने चाहन्छ। डा. मानसाग्नि यस कित्ताको विपरीत ध्रुवमा उभिएका पात्र हुन्।
मानसाग्निका हरेक क्रियाकलापले ‘स्वर्ग’ रोजेको आभास मिल्छ मलाई। यथार्थमा स्वर्ग र नर्क छ÷छैन, मैलाई थाहा छैन। शाब्दिक अर्थमा उनको स्वर्गले अरूलाई पनि त्यहीँ तानिरहन्छ। सम्भवत: व्यक्ति आफू जे छ त्यही देख्छ, जे सोच्छ त्यही ठान्छ। गीतकार दुर्गालाल श्रेष्ठले लेखेको गीत यहाँ सार्थक हुनुपर्छ, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार... !’ मानसाग्निले भनेका छन्, ‘तिम्रो मन मौन छ, मुख नि:शब्द छ र कर्म बोलिरहेको छ भने तिमी स्वर्गमा छौ। तिम्रो कर्म मौन छ, मुख शब्दसागर बनेको छ र मन बोलिरहेको छ भने तिमी नर्कमा छौ। स्वर्ग र नर्कको प्राप्ति तिमीमै निर्भर छ तिम्रा लागि।’ उनलाई लाग्छ, क्रोधभन्दा ठूलो अर्को डढेलो छैन, लोभभन्दा ठूलो अर्को आँधी–बेहोरी छैन, मोहभन्दा ठूलो अर्को जाल छैन, ईष्र्याभन्दा ठूलो अर्को अन्धकार छैन। द्धेषभन्दा ठूलो अर्को प्रलय छैन, अत: यी सबै आपत–विपतभन्दा ठूलो अर्को नरक छैन। लाग्छ, उनका यी सद्विचारले मलाई मात्र होइन, हरमानिसलाई स्वर्गको संसारमा पुर्याउँछ।
जीवनको गणित उल्टो छ। जीवनको गणितमा जेजति बटुलिरहेका हुन्छौं, त्यो सबै गुमाइरहेका हुन्छौं। जेजति लुटाइरहेका हुन्छौं त्यो मात्रै हामीले सञ्चय गरिरहेका हुन्छौं। अधिकांश समय हामी (मानव) बेहोसीमा हुन्छौं र जे कुरालाई सत्य ठानिरहेका हुन्छौं त्यो केवल एक सपना सावित भइदिन्छ। आफ्नै मनसँग मैत्री राख्न नसकेर या नजानेर अशान्त हुन्छौं र शान्ति खोज्दै मन्दिर, मस्जिद पुग्छौं। आफ्नै घर, परिवारबाट अशान्त हुन्छौं र शान्ति खोज्दै अन्यत्र धाउँछौं। जीवनको गणित बडो बिडम्बनापूर्ण छ। फगत घरभित्र अँध्यारो देखिन्छ र सडकमा ल्यामपोष्टको उज्यालो। बारम्बार उही भूल गरिराख्छौं : घरभित्र हराएको सियो सडकमा खोज्न थाल्छौं। कस्तुरीको सुवास हामीभित्रबाट आएको हो भनेर कहिले थाहा पाउने ? कहिलेसम्म अनुहार मैलो देखियो भनेर ऐना सफा गरिरहने ? आफूतिर फर्कन सिकौं, आफ्नै जिन्दगीसँग सुख–शान्ति अनुभूति गर्न सकौं। मानसाग्निको ‘स्वधर्म’ यही हो। त्रियोग अर्थात् शरीर योग, विश्व योग र अनादि योगको गन्तव्य नै स्वधर्म हो। स्वधर्म साधनाको आधार पनि त्रियोग नै हो।
सम्भवत: कुनै मानिस पनि दु:खी हुन चाहँदैन। सुखको खोजीमा अरूको सुख खोस्न चाहन्छ, खोस्छ। आफूलाई दु:ख भयो भने अरूलाई झनै दु:ख दिनुपर्छ भन्ठान्छ। आफू भत्किन र मासिन थाल्यो भने ऊ अरूको पनि त्यही गति होस् भन्ने चाहन्छ। मानसाग्नि यस कित्ताको विपरीत ध्रुवमा उभिएका पात्र हुन्। उनको भनाइ छ, ‘आफू र अरूलाई पनि दु:ख दिनु हुँदैन भनेर निरन्तर सोचविचार गर्ने मानव सदा सुखी हुन्छ। ‘दिव्य’ आनन्द र उत्सवमा हुन्छ।’ मानिस सुख सुनमा देख्छ। मानसाग्नि सुनमा सुख देख्दैनन्। सुनले अवसान निम्त्याउने दीर्घकालीन बुझाई उनको आदर्श हो। उनी भन्छन्, ‘सुनको थाल भएर के गर्ने त्यसमा भोजन छैन भने। भोजन छ भने पातमै होस् या हातमै, महत्वपूर्ण हुन्छ। भोजनबिनाका सुनका थालहरूले नै संसारलाई विनाशमा धकेलिरहेका छन्।’ उनको व्यक्तित्व पनि यसैमा देख्छु म। उनका यी महान् सोचले ‘दिव्यलोक’ निर्माण गरिरहेका छन्।
हरमानवलाई उनी सृष्टिको नायक देख्छन्। समाज र समयले सत्यलाई कैद गरेको देख्छन् उनी। हरमानवले सत्यलाई कैदमुक्त गर्नुपर्ने धारणा उनमा छ। सुनको थाल बोकेर एउटा रोटीका लागि सूर्योदयदेखि सूर्यास्तसम्म बाटो किनारमा बस्ने मानवलाई उनी झक्झक्याइरहन्छन्, ताकि ती मानिसलाई ‘सृष्टिका नायक बन’ भनिरहन्छन्। उनी ‘माग्नेहरू’ को विपक्षमा छन्, ‘दिनेहरू’ को सत्ताको पक्षधर हुन्। ‘तिमी अरूबाट माग्छौं तिमीसँग अरूले माग्छन्, दुवै भिखारी किनकि दुवैले माग्छन्। पाउँदैनन् र लड्छन्। प्रेम नमाग, बाँड। जति बाँड्यो त्यति प्राप्त हुँदै जान्छ, जति माग्यो त्यति लुटिँदै जान्छ’, मानसाग्निको यो जीवन–दर्शनले मजस्ता झन्डै तीन करोड नेपाली लाभान्वित हुन सकून्। विश्वजगत् चिहाउने साथै सफल जीवनका अनवरत मार्गहरू दिन सक्ने डा. मानसाग्नि एउटा आदर्श र खुल्ला पुस्तक हुन् भन्नेमा म ढुक्क छु।