सभामुखसँग प्रधानमन्त्री आक्रोशित

सभामुखसँग प्रधानमन्त्री आक्रोशित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री ओलीले बैठकमा सभामुख सापकोटाका कारण काम गर्न अप्ठ्यारो भएको भन्दै विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिए। 

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाकै कारण एमसीसी, अध्यादेशलगायत बिजनेस अड्किएको जानकारी  दिए। ‘एमसीसी पास गर्छ कि गर्दैन त्यो प्रतिनिधिसभाको कुरा हो’, ओलीले बैठकमा भने, ‘सरकारले प्रस्तुत गरिसकेपछि त्यस्तो प्रस्ताव सभामुखले अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक तरिकाले रोक्न मिल्दैन, रोक्न पाइँदैन।’

सरकारले प्रस्तुत गरेको कुनै पनि प्रस्ताव रोक्नु सभामुखको अधिकारभित्रको कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ। ‘त्यो संसद्को, प्रतिनिधिसभाको अधिकार हनन् हो। त्यस्तो गर्नुहुँदैन। र, त्यस गल्तीलाई अब निरन्तरता दिन सकिँदैन’, ओलीले भने, ‘सभामुखज्यूले सच्याउनुपर्छ र उहाँले त्यसलाई पेस गर्नुपर्छ। यसमा एउटा सहमति नै छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बसेको सर्वदलीय बैठक। सौजन्य : प्रधानमन्त्रीको स्वकीय सचिवालय

ओलीले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर ७ गतेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने सर्त राखे। नत्र सभामुखको विकल्प खोज्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘यदि कुनै हालतमा गर्नुहुन्न भने दुईवटा कुरामध्ये हामीले एउटा रोज्नुपर्छ’, ओलीले भने, ‘मन लागे प्रस्तुत गर्ने, मन नलागे प्रस्तुत नगर्ने यो त सभामुख संविधान कानुनभन्दा माथि हुन्छ। त्यसकारण सभामुखले जे गर्न पाउँछ, स्वेच्छाको कुरा हो भनेर मान्नुपर्‍यो, या त विकल्प खोज्नुपर्‍यो। त्यो दुईबाहेक हामीसँग अरु विकल्प रहँदैन। त्यसकारण यस कुराको फैसला हामीले ७ गतेभित्र गर्नुपर्छ।’ 

उनले ओलीलाई सरकारबाट हटाए आफूले पास गर्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी राजदूतसँग गरेको दाबी गरे। ‘अहिले प्रचण्डले अमेरिकन एम्बेस्डरलाई बोलाएर रिपिटियाड्ली भनिराख्नुभएको छ केपी ओली हुँदा पास गर्दैन, म बनेपछि पास गर्छु। मलाई मद्दत गर्नुस्’, ओलीले भने।

एमसीसी सम्झौता कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको थियो। जति बेला दाहाल नेतृत्वको माओवादी पनि सत्ता साझेदार दल थियो। ‘कुराकानी गर्दा पुष्पकमल दाहालजीले अलिक धेरै अगाडि बढाउनुभएको हो। आफू प्रधानमन्त्री बनेपछि शेरबहादुरजीले त्यसलाई निष्कर्षमा पुर्‍याउनुभयो। ज्ञानेन्द्र कार्कीजीले वासिङटनमा सही गर्नुभएको हो’, ओलीले भने, ‘अनि गर्ने बेलामा सम्झौता गर्ने अनि अहिले झोस्ने ? अनि फलानो हट्योे भने म गर्छु भन्ने ? यस्ता खालका खेल तमासा पनि कुनै नैतिकताभित्र पर्छ ?’ 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास गर्ने विषयका आफ्नो पार्टी सहमत रहेको स्पष्ट पारे। ‘हामीले आफ्नो कुरा प्रस्टसँग राखेका छौं। एमसीसी सम्झौता शेरबहादुरजीको पालामा भएको हो। त्यसमा आपत्तिजनक कुरा छन् भने छलफल गरौं। होइन भने संसदबाट पास हुनुपर्छ भन्ने हाम्रो कुरा हो’, नेता पौडेलले भने।

प्रधानमन्त्री ओलीले बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली स्थानको उपनिर्वाचन विषयमा सहमति खोजेका छन्। ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने बाध्यता रहेको ओलीले बताए। कांग्रेस महाधिवेशनलाई प्रभावित गर्ने गरी उपनिर्वाचन गरिने उनको भनाइ थियो। कांग्रेसले भदौमा महाधिवेशन भएकाले त्यसलाई प्रभावित नहुने गरी कार्यतालिका प्रकाशन गर्न सुझाव दिएको थियो। 

‘अहिले नेपाली कांग्रेसले महाधिवेशन कुनै हिसाबले म्यानेज गर्नुपर्ने देख्छु। या त भदौमै गर्नुपर्‍यो केही ठाउँमा उपनिर्वाचन हुने हो’, ओलीले भने, ‘तर, अब त्यहाँ प्रतिनिधि आदि इत्यादिमा महाधिवेशनका प्रतिनिधि छनोटमा असर पर्छ कि भन्ने हो भने नपर्ने गरीका दिन मिलाएर त्यो गर्न सकिन्छ भन्ने लाग्छ।’ 

कांग्रेसले  वैकल्पिक प्रस्ताव राखे सरकार त्यसमा पूर्ण सकारात्मक रहेको उनले बताए। ‘नेपाली कांग्रेसले भन्छ भने सरकार त्यसमा एकदम पोजेटिभ हुन्छ। र, कसरी त्यसलाई सल्भ गर्न सकिन्छ अरू पार्टीहरुले त त्यसमा सहयोग पुर्‍याउने हो। त्यो सहयोग पुर्‍याउन सकिन्छ’, उनले भने। उनले कांग्रेसको महाधिवेशन छ भने भनेर उपनिर्वाचन, निर्वाचन नगर्ने भन्ने हुन नसक्ने बताए।  

प्रधानमन्त्रीले कोभिडका विषयमा सरकार गम्भीर रहेको बताए। सरकारको तर्फबाट भ्याक्सिनका लागि अमेरिकामा पनि कुराकानी भइरहेको उनले बताए। ‘कुरा त अमेरिकनसँग पनि भएको छ कोभ्याक्सको सन्दर्भमा पनि, हामीले ताकेता गरिराखेका छौं’, उनले भने, ‘र, भारतमा हामीले पैसा नै बुझाइसकेका छौं भ्याक्सिनका लागि। यसप्रकारले भ्याक्सिनको सिलसिला पनि हामीले जारी राखेका छौं।’

उनले महामारीबीच विद्यालय अनलाइनमार्फत सञ्चालन गर्न, सिनेमा हललगायत भिडभाड हुने स्थान बन्द गर्न आह्वान भएको बताए। 

कांग्रेस नेता पौडलले कोभिड रोकथामका लागि लकडाउनभन्दा स्वास्थ्य मापदण्ड  अपनाउन सुझाव दिएको बताए। ‘संक्रमण रोकथामका लागि हामीले लकडाउनभन्दा स्वास्थ्य मापदण्डमा कडाइ गर्न सुझाव दिएका छौं’, बैठकपछि  नेता पौडेलले भने।

नयाँ नक्सा र पाठ्यपुस्तक भ्रम 
लिम्पियाधुरासहितको नक्सासहित पाठ्यपुस्तक रोकिएको भन्ने भ्रमका विषयमा पनि ओलीले स्पष्ट पारे। पाठ्यपुस्तकमा गलत तथ्य, तथ्यांकलगायत सामग्री भएकै कारण विद्यार्थीमाझ पठाउन नसकिएको ओलीले सुनाए। चुच्चे नक्सा अस्वीकार गरिएको भन्ने हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे।  

उनले पुन : निर्वाचन जानुको विकल्प नरहेको दोहोर्‍याए। ‘अब हामीले निर्वाचनमा जानै पर्नेछ। निर्वाचनमा जानै पर्नेछ भनेको उपनिर्वाचनबाहेक। अब अरू निर्वाचन साथीभाइको कृपाले आइलाग्यो भने त म के जानौं ?’ उनले भने। 

ओलीले कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्री दाहालको आडमा चलेको आरोप लगाए। आफ्ना पार्टीका सांसदले फ्लोर क्रस गर्दा पनि आफूले स‌ंयमता अपनाएको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.