लहानमा सरुवाको विरोधमा शिक्षक
सिरहा : लहान नगरपालिकाले गरेको सरुवामा शिक्षकहरुले विरोध गरेका छन्। नगरपालिकाले आफैँले बनाएको ऐन अनुसार चरण–चरण गरी १३२ जना प्राथमिक शिक्षकहरुलाई सरुवा गरेको हो। शिक्षकहरुको चार पेशागत संघ/संगठनहरुले सोमबार पत्रकार सम्मेलन गरी सरुवा कानून विपरित रहेको बताएका छन्।
पहिलो चरणमा ०७७ चैत १३ गते नगरपालिकाले १३ जना शिक्षकहरुलाई सरुवा गरेको थियो। पछि फेरि दोस्रो चरणमा ०७८ बैशाख ९ गते ११९ जनालाई सरुवा गर्यो। यसरी सरुवा गरिएकोप्रति आपति र ध्यानाकर्षण भएको नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ र संघिय समाजवादी शिक्षक फोरमको लहान नगर समितिले जनाएको छ।
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ वर्तमान अवस्थामा मौजुद रहेको, शिक्षा ऐन २०२८ को दफा १६(ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकलाई सरुवा गर्ने अधिकार अहिलेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइलाई रहेको नेपाल शिक्षक संघ लहान नगर अध्यक्ष अरविन्द कुमार दासले बताए। उनकाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११.२(ज) मा आधारभुत र माध्यमिक शिक्षा सम्बन्धी केही अधिकार दिएको देखिन्छ तर शिक्षकहरुको सरुवा गर्ने अधिकार दिएको छैन्। राजनीति प्रतिशोध साधन नगरपालिकाले आफु खुशी सरुवा गरिरहेको उनको आरोप छ।
यता, लहान नगरपालिकाका नगर शिक्षा समिति संयोजक राजकुमार साहले शैक्षिक सुधारका लागि शिक्षकहरुलाई सरुवा गरेको जनाएको छ। ‘एउटै शिक्षक वर्षौसम्म एउटै विद्यालयमा बसेको छ। शैक्षिक अवस्था कमजोर भएको छ,’उनले भने,‘शिक्षामा परिवर्तन ल्याउन शिक्षक सरुवा आवश्यक देखिएको छ।’ कानून अनुसार नगरपालिकाले ऐन बनाएर सरुवा गरेको उनले बताए।