‘लेऊ ! अब मास्क लगाऊ’
स्याङ्जा : प्रहरीले स्याङ्जा सदरमुकाम वरपर मास्क लगाए नलगाएको भन्दै सोमबारदेखि निगरानी बढाएको छ। कोरोना संक्रमण उच्च बढेको जनाउँदै मास्क नलगाउनेलाई तत्काल मास्क लगाउन सुझाव दिंदै मास्क समेत उपलब्ध गराएको हो।
कोरोनाको दोश्रो लहर तीव्ररुपले बढीरहेको बेलामा प्रहरीले सदरमुकामदेखि अभियान सुरु गरेको जनाएको छ। प्रहरी उपरीक्षक होविन्द्र बोगटीले भने, ‘संक्रमण नियन्त्रणका लागि सबैले अनिवार्य मास्कको सही प्रयोग गर्नैपर्ने हुनाले हामीले ‘मास्क खोई?’ अभियान सञ्चालन गरेका हौं।’
स्याङ्जा अन्तरगत पर्ने सिद्धार्थ राजमार्ग भएर गुड्ने सवारी यात्री, पैदल यात्रु, ब्यवासायी र सर्वसाधारण सबैलाई ‘मास्क लगाऊ’ भन्ने अभियानसँगै मास्क नलाउनेलाई सचेतना सहित माक्स वितरण गरेको प्रमुख वोगटीले बताए।
संक्रमण बढेका बेला अझै पनि धेरै नागरिकले मास्क नलगाइ हिंडेको देखेपछि प्रहरीले सेचतनामूलक कार्यक्र मार्फत मास्क लगाउन आग्रह गर्दै अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको संयुक्त आयोजनामा कोरोना संक्रमण सचेतना अभियान सञ्चालन गरेको ट्राफिक प्रमुख कर्णबहादुर चुनाराले जानकारी दिए। कसैलाई पनि मास्क नलगाइ बस्न र हिंड्न छुट दिनु हुँदैन प्रमुख चुनाराले भने, ‘कोरोना संक्रमणबाट बच्न र बचाउने हामी सबै नागरिकको जिम्मेवारी हो।’ अभियानलाई जिल्लाका अन्य बजारमा पनि विस्तार गरिने भएको छ।
केही दिनयता स्याङ्जामा पनि संक्रमितको संख्या बढ्दै गएको छ। छिमेकी जिल्ला कास्की उच्च जोखिममा देखिएपछि प्रहरीले पहिलो चरण माक्स लगाउन र सेनिटाइजरको प्रयोग गर्न सचेत गराएको हो। पछिल्लो दुई सातामा स्याङ्जामा झण्डै ५० जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। प्रहरीको अभियानले अहिलेको अवस्थामा मास्कको प्रयोग अत्यावश्यक छ भन्ने सुझाव दिएको बताउँछन् सदरमुकामका व्यवसायी सरिफ मिया।