तुलसीले जिते नशाबाट अवार्ड
काठमाडौं : ठूलो पर्दाका फिल्म, टेलिसिरियल, म्युजिक भिडियो तथा लघु चलचित्रमा प्रायः नकारात्मक भूमिकामा देखिने अभिनेता तुलसीप्रसाद श्रेष्ठले आफ्नो विधामा पुरस्कार प्राप्त गरेका छन्। नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झासहितको उपस्थितिमा उनले लघु चलचित्र नशाका लागि उत्कृष्ट खलनायकको पुरस्कार प्राप्त गरेका हुन्।
हिजो आजका कुराबाट अभिनय थालेका श्रेष्ठले सञ्जीवनी, झट्का, विश्वास, हस्पिटल, नेवारी टेलिसिरियललगायत धेरै सिरियलमा अभिनय गरेका छन्। ठूलो पर्दाको फिल्म मिस्टेक र ड्रिम गर्लमाखलपात्रको भूमिका निर्वाह गरेका उनी अहिले निर्माणाधीन फिल्म चुरीफुरीमा पनि नकारात्मक रोलमा नै देखिँदै छन्।
अञ्जु पन्तको स्वरमा रहेको ‘म चित्त बुझाऊँ’बोलको चर्चित गीतको भिडियोमा उनले प्ले ब्वाईको मुख्य भूमिका निर्वाह गरेका थिए। यसबाहेक उनले दर्जनौं गीतका भिडियोमा विभिन्न भूमिकामा अभिनय गरेका छन्।
नायिका सारिका घिमिरेसँग ‘निष्ठुरी है नौ डाँडा काटेर’ बोलको गीतमा देखिएका उनी आधुनिक गीततर्फ गायक नरेन्द्र प्यासीको गीतमा देखिए भने दोहरीगीततर्फ देवी घर्ती र खुमन अधिकारीको किन फुल्यो कमल काँडामा बोलको गीतमा अभिनय गरे।
सरिता लामिछाने र ऋषि लामिछानेको टेलिसिरियलमा पनि उनले अभिनय गरिरहेका छन्। ‘हुन त म जुनसुकै भूमिकामा पनि अभिनय गर्न सक्छु तर मलाई नकारात्मक रोलमा नै खेलाउन खोजिन्छ’, पुरस्कार समारोहमा भेटिएका तुलसीले भने, ‘जस्तोसुकै भूमिकालाई पनि न्याय दिन सक्नु नै कलाकारको खुबी हो।’