बाजुरामा एन्टिजेन किट अभाव

बाजुरा : बाजुरामा एन्टिजेन किट अभाव भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणसँग मिल्दो जुल्दो लक्षणका बिरामी गाउँगाउँमा अत्याधिक बढी रहेका छन् । उपचारका लागि कसैले चासो दिएको छैन । बिरामी कोरोना संक्रमण हुने डरले स्वास्थ्य संस्थामा जाँदैनन् ।
जिल्ला स्वास्थ्य कार्यालयले बाजुरा जिल्लाका नौवटै स्थानीय तहलाई २५ वटाका दरले एन्टिजेन किट पठाएको छ । हिमाली गाउँपालिकाले कोरोना भाइरस संकास्पद बिरामीलाई परीक्षण गर्दा २५ वटामा ११ जनामा कोरोना पोजिटिभ देखाएको हो।
त्यो भन्दा पहिला दुई जनाको स्वाब परीक्षणका लागि अछामको कमलबजार पठाएकोमा दुबैजना कोरोना पोजिटिभ देखिएपछि हिमाली गाउँपालिका शनिबारदेखि सिल गरिएको छ ।
गाउँपालिकाभर लक्षण भएका बिरामी धेरै छन् । एन्टिजेन किट छैन । स्वास्थ्यकार्यालयले पठाएका किट पहिलो दिनमै सकिएको छ। गाउँपालिकाका कर्मचारी स्वास्थ्यकर्मी नै कोरोना पोजिटिभ देखिएपछि गाउँपालिकाका सबै सेवा बन्द भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताए । 'आफू पनि बिरामी छु किट अभाव भएर कोरोना परीक्षण गर्न पाइएन,'उनले भने,' संक्रमण देखिएपछि गाउँपालिकाका सबै काम प्रभावित भएको छ।
त्यस्तै बुढीगंगा नगरपालिकामा पनि २५ वटा किट पठाइएको छ । गाउँमा बिरामीको संख्या धेरै भएकाले परीक्षणमा समस्या भएको बुढीगंगानगरपालिकाका मेयर दिपक बिक्रम शाहले बताए ।
एन्टिजेन परीक्षणपछि पोजिटिभ देखिएका कोरोना संक्रमितको संक्रमण दर डरलाग्दो तरिकाले बढिरहेको छ । एन्टिजेन पोजिटिभ देखिएका कसैको पनि बाजुरामा पीसीआर परीक्षण गरिएको छैन । एन्टिजेन किट परीक्षण गरिसकेपछि पोजिटिभ देखिएकाको सबै पालिकाले स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाउन सजिलो हुन्थ्यो ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महनचन्दकाअनुसार जिल्लाका सबै पालिकालाई पहिलो पटक २५ का दरले पठाएको र आवश्यकताको आधारमा मागभए अनुसार पठाइने बताए ।
शंकास्पद बिरामीलाई परीक्षण गर्दा दिनमा कम्तिमा पाँचजना भन्दा बढी पोजिटिभ बिरामी देखिने गरेको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल पर्सन चुणामणी पन्तले बताए।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लामा कोरोना रोकथामका मापदण्ड प्रचारप्रचार गरिरहेको र जिल्ला भित्रिने नाकामा हेल्थ डेस्क स्थापना गरी भारतलगायत अन्य कोरोना प्रभावित जिल्लाबाट आउनेको संख्या संकलन गरी तिनीहरुलाई प्रहरी जनप्रतिनिधिको निगरानीमा होम आइसोलेसनमा बस्ने व्यवस्था गरिएको छ ।
जिल्लामा एन्टिजेन प्रविधिबाट परीक्षण भइरहेको छ । नेपाल सरकारने बनाएको मापदण्ड अनुसार जिल्लामा कोरोना संक्रमित २ सय भन्दा बढी नाघे मात्र जिल्लालाई नै निषेधाज्ञा गर्नु भनिएकाले सावधानीका लागि सूचना जारी गरिएको बताए । हिमाली गाउँपालिकाका कर्मचारी स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि शनिबारबाटै सिल गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
