दर्शकमाझ रिजालको अंग्रेजी फिल्म

काठमाडौं : लन्डन निवासी डा. कपिल रिजालले निर्देशन गरेको अंग्रेजी भाषाको छोटो फिल्म ‘कर्मा : लाइफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ’ दर्शकमाझ आएको छ। अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ।
२६ वर्षदेखि लन्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रूपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो। डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सनको ब्यानरमा निर्मित फिल्ममा उनले लन्डनवासी नेपालीका साथै लन्डनका कलाकारलाई अभिनय गराएका छन्।
हलिउडका नाम चलेका प्राविधिकसमेतको संलग्नता रहेको फिल्ममा लन्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो ट्यांक) मूख्य भूमिकामा छन् भने लन्डनकी डेलिएलन नायिका रहेकी छन्। उनीहरूका साथमा सपनकुमार राई, जेनामासे, ज्याकमासे, कारलाई विक, र निशान पुनले पनिअभिनय गरेका छन्।
सम्पूर्ण छायांकन कार्य लन्डनमा गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको थियो। सस्पेन्स थ्रिलर फिल्ममा कथा निर्देशक रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन्।फिल्ममा सपनकुमार राई, मिनो ओज, डेनिएलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म ११ मिनेट २२ सेकेन्डको छ।
डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड—१९ को विषयमा एकल कलाकार लिएर गिल्ट नामक छोटो फिल्म बनाएका थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीका साथ साइलेन्स नामक सर्ट फिल्म बनाएका थिए। डा. रिजालले आफ्नापिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र फिल्म रहेकाले आफू पनिदुवै क्षेत्रमा सक्रिय भएको बताए। डा. रिजालले नेपाल र लन्डनमा गरी हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
