स्याङजामा कोरोनाबाट थप एक पुरुषको मृत्यु, चापाकोटमा २० संक्रमित थपिए
स्याङजा : गल्याङ नगरपालिकाका ११ का ५० वर्षीय एकपुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषको मंगलबार साँझ करिब १० बजे पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
वैशाख १८ गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि पोखरा पठाइएको थियो। योसँगै दोस्रो चरणको कोरोना संक्रमणपछि स्याङजामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
चापाकोटमा २० संक्रमित थपिए
स्याङजामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। बुधबार यहाँ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चापाकोट नगरपालिकाका २० जना, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक कोरोना नियन्त्रण तथा रोकथाम कार्यालय पोखराले जनाएको छ।
चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाका अनुसार चापाकोट हेल्थ डेस्कमा गरिएको एण्टीजेन परीक्षणको क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबारसम्म संक्रमितको संख्या ३ सय २ छ।