कर्णालीमा कोरोना महामारीसँग जुध्न स्वास्थ्यकर्मी अभाव
सुर्खेत : मानव विकास सूचकांकमा कमजोर कर्णाली स्वास्थ्य पूर्वाधार पनि कमजोर छ । सामान्य रोगका बिरामीलेसमेत गुणस्तरीय उपचार नपाउने अवस्थामा कोरोना महामारीसँग जुध्न सहज छैन ।
त्यसमा पनि दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कोरोना महामारीसँग जुध्न थप समस्या भएको छ । प्रदेशका दुर्गम जिल्लामा न स्वास्थ्य पूर्वाधार, न पर्याप्त स्वास्थ्यकर्मी ।कोरोना महामारीको दोस्रो लहर फैलिएपछि कर्णालीमा चुनौती बढेको हो । संक्रमितको संख्या बढ्न थालेपछि उनीहरुको उपचारमा स्वास्थ्यकर्मी अभाव हुन थालेका हुन् । प्रदेशमा दरवन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा महामारी रोकथाम र उपचारमा जटिलता भएको हो । संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएपछि चिकित्सकहरुलेसमेत प्रदेश सरकारसँग स्वास्थ्यकर्मी र स्वास्थ्य पूर्वाधार थप्न हारगुहार नै गरेका छन् ।
कर्णालीमा सामान्य अवस्थामा पनि विशेषज्ञ चिकित्सक बस्न मान्दैनन् । त्यसमा पनि दुर्गम जिल्लामा अधिकांश स्वास्थ्यकर्मीको दरवन्दी रिक्त छ । यहीकारण पनि महामारी नियन्त्रणमा समस्या आउन थालेपछि प्रदेश सरकारले केन्द्र सरकारसँग तत्काल दक्ष जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराइदिन आग्रह गरेको छ ।
महामारी बढ्दै जाँदा हालकै जनशक्तिले थेग्न नसक्ने चिकित्सकहरुले चेतावनी दिइसकेका छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा कर्णालीमाअधिकांश करारमा नियुक्त जनशक्तिबाटै काम चलाउनु परिरहेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार हाल प्रदेशभर आठसय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर जम्मा दुईसय ९६ जनाको मात्रै पदपूर्ति छ । त्यसमा एकसय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी हो । कर्णालीमा हाल २७ जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् ।
दरबन्दीमा कार्यरत सातजना विशेषज्ञ चिकित्सक भने अहिले अध्ययन विदामा छन् । दरबन्दी अनुसारका चिकित्सक नहुँदाहाल करारमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर काम चलाइएको छ । निर्देशनालयका अनुसार हाल कर्णालीभर करारसहित गरेर जम्मा ९४ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । उपलब्ध जनशक्ति कोरोना महामारीसँग जुध्नपर्याप्त नभएकोस्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का बताउँछन् ।
‘अहिले पनि यहाँ दरबन्दी अनुसारका चिकित्सक छैनन्, हामीलेकरारमा नियुक्त गरेर काम चलाउनु परेको छ’ उनले भने, ‘कोरोना महामारीको दर बढ्दो छ, यो महामारीसँग लड्नका लागि कर्णालीसँग दक्ष जनशक्तिको चरम अभाव छ ।’बुधबार मात्र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुसँग महामारी नियन्त्रणबारे छलफल गरे ।
सो अवसरमा चिकित्सकले महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्यकर्मी र पूर्वाधारको व्यवस्था गर्न हारगुहार नै गरे । चिकित्कहरुले कोरोना नियन्त्रणका लागि जनशक्ति थप्नुपर्ने, जोखिम भक्ताको सुविधा उपलब्ध गराउनुपर्ने, जिल्ला अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन गर्नुपर्ने, बेडहरु थप्नुपर्ने,अस्पतालहरुको स्तरोन्नति, र पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले प्रदेशमा स्वास्थ्यकर्मीको अभाव टार्न संघीय सरकारसँग आवश्यक जनशक्ति माग गरिएको बताइन् । प्रदेश सरकारले जनशक्ति उपलब्ध गराएमा महामारी नियन्त्रणमा सहज हुने उनको भनाइ छ । यसैबीच कर्णालीमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि केन्द्र सरकारले पनि चासो देखाएको छ ।
संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई टेलिफोन गरी कोरोना नियन्त्रणमा आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
त्यसक्रममा मुख्यमन्त्री शाहीले दैनिक एकहजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेसन निर्माणका लागि केन्द्र सरकारबाट तत्काल थप पहल गरिदिन आग्रह गरे।