महामारीमा काँध थाप्दै स्थानीय सरकार

महामारीमा काँध थाप्दै स्थानीय सरकार

सुर्खेत : कोरोनाले महामारीको रुप लिएपछि यसको नियन्त्रणमा स्थानीय तहहरु सक्रिय बनेका छन्। कर्णालीमा संक्रमण तीव्र बन्दै गएपछि स्थानीय तह यसको रोकथाम र संक्रमितको उपचारमा जुटेका हुन्। संक्रमितले अस्पतालमा बेड नपाउने अवस्था आउन थालेपछि स्थानीय तहले आफैँ अस्पताल र आइसोलेसन तयार पार्न थालेका छन्।

कर्णालीमा सबैभन्दा बढी वीरेन्द्रनगरमा संक्रमित छन्। मृत्युदर पनि बढेको र अस्पतालमा बेड नपाइने अवस्था आएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै कोरोना अस्पताल संचालनमा ल्याएको छ। प्रदेश अस्पताल सुर्खेतमा संक्रमित भरिएपछि अधिकांश संक्रमित बेड नपाएर होमआइसोलेसनमा छन्। बेड र अक्सिजन अभावमा संक्रमितको ज्यानै जाने अवस्था आएपछि नगरपालिकाले शुक्रबारबाट आफ्नै कोरोना अस्पताल संचालनमा ल्याएको हो।

‘संक्रमण बढ्दो छ, अधिकांश संक्रमित होमआइसोलेसनमा बस्न बाध्य छन्’ वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले भनिन्,‘होम आइसोलेसनमा बस्दा अक्सिजन र चिकित्सकको परामर्श नपाएरै गम्भिर प्रकृतिका संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आउन थाल्यो, यसलाई रोक्न हामीले आफ्नै अस्पताल संचालनमा ल्याएका हौं।’ वीरेन्द्रनगरले तत्कालका लागि अक्सिजनसहित २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो। संक्रमित बढ्दै गए यसलाई ५० शैयाको बनाइने छ। नगरभित्रका संक्रमितको उपचारका लागि हाल दुईजना डाक्टरसहित स्वास्थ्यकर्मीहरुको व्यवस्था गरिएको छ। आफ्नै अस्पताल संचालनमा आएसँगै संक्रमितको उपचारमा सहज हुने नगरपालिकाको अपेक्षा छ।

संक्रमतिको संख्या बढ्दै जाँदा हाल उपलब्ध सरकारी अस्पतालहरुले थेग्न सक्ने अवस्था छैन। यहि कारण पनि स्थानीय तहले आफै अस्पताल र अक्सिजनसहितका आइसोलेसन तयार पार्न थालेका हुन्। सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि अक्सिजनसहितको १५ शैयाको आइसोलेसन तयार पारेको छ। आइसोलेसनमा अक्सिजनका पाँच वटा सिलिण्डर राखिएका छन्। यो महामारीमा नागरिकलाई आँगनमै स्थानीय सरकार रहेको अनुभूति दिलाउन आफूहरु संक्रमितको उपचार र महामारी नियन्त्रणमा जुटेको नगरप्रमुख गोविन्द पुनले बताए।

यस्तै सुर्खेतको सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन स्थापना गरेको छ। स्थानीय बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए। ‘भारतबाट धमाधम नागरिक गाउँ फर्किन थाले, महामारी नै फैलिने डर छ’ अध्यक्ष केसीले भने, ‘अस्पतालमा बेड पाउने अवस्था छैन, नागरिकको जीवन रक्षाका लागि हामीले गाउँमै अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेका हौं।’ उनका अनुसार गम्भीर प्रकृतिका संक्रमितलाई सुविधायुक्त अस्पतालसम्म पुर्‍याउनका लागि गाउँपालिकाले एम्बुलेन्ससमेत तयार पारेको छ।

सुर्खेतकै चौकुने गाउँपालिकाले पनि अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ। अक्सिजनका लागि गाउँपालिकाले ६ वटा सिलिण्डरसमेत खरिद गरेको छ। बाँकी सिलिण्डर थप्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए। गुर्भाकोट नगरपालिकाले मेहलकुनामा रहेको सिटी हलमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ। अघिल्लो वर्ष क्वारेन्टाइनमात्रै निर्माण गरेका कर्णालीका स्थानीय तहहरुले यो वर्ष भने अक्सिजनसहितका आइसोलेसन तयार पारेका हुन्। कर्णालीमा पछिल्लो समय अस्पतालहरुमा पर्याप्त अक्सिजन र बेड अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएपछि स्थानीय तहहरु धमाधम अस्पताल, अक्सिजन, एम्बुलेन्स र आइसोलेनसको व्यवस्थापनमा जुटेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.