कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो
रोल्पा : रोल्पाका कोरोना संक्रमित एकपुरुषलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट मंगलबार काठमाडौं लगिएको छ । रोल्पा अस्पताल रेउघामा सोमबार भर्ना भएका संक्रमितको रगत र अक्सिजनको मात्रा घटेकाले थप उपचारका लागि काठमाडौंको पाटन अस्पताल लगिएको हो ।
परिवर्तन गाउँपालिका–४ इरिबाङका हाल सदरमुकाम लिबाङ बस्दै आएका ३५ वर्षीया पुरुषलाई एक हप्ताअघि संक्रमण देखिएको थियो । होमआइसोलेसनमा बस्दै आएका उनलाई अधिक ज्वरो आएपछि रेउघा अस्पताल भर्ना गरिएको थियो । 'अस्पताल आएपछि संक्रमितलाई अक्सिजन दिइरहेका थियौं । रगत र अक्सिजन को मात्रा कम भएकाले थप उपचारका लागि रेफर गरिएको हो ,' अस्पतालका मेडिकल अधिकृत डाक्टर आधार वलीले भने, “आइसीयूमै राखेर उपचार गर्न आवश्यक देखियो त्यसैले रिफर गरिएको हो।'
सिम्रिक हेलिकोप्टरले दिउँसो १२ बजे संक्रमित लिएर काठमाडौं फर्किएको हो । अस्पताल परिरसरमै हेलिकोप्टर ल्याण्ड गरी अक्सिजनसहित थप उपचारका लागि पठाइएको अस्पतालका सूचना अधिकारी एवं सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिए ।
जलजला क्याम्पसमा अध्यापन समेत गर्दै आएका पुरुषका पत्नी र छोरा समेत संक्रमित छन् । उनीहरु होमआइसोलेसनमै छन् । सँगै रहेका बहिनी र छोरीको स्वाब परीक्षण रिपोर्ट आएको छैन् । संक्रमित भएपछि आफूसँग कन्ट्याक्टमा रहेकालाई सजग हुन अनुरोध समेत गरेका थिए ।
अस्पतालका सूचना अधिकारी डाँगीका अनुसार अस्पतालमा कोभिडको दोस्रो लहरका संक्रमित उपचारका लागि ११ वेडको व्यवस्था गरिएको छ । हाल ८ जना संक्रमितलाई अक्सिजन दिएर उपचार भइरहेको छ । '११ जनासम्मलाई अक्सिजनसहित उपचार गर्न सकिन्छ । त्यो भन्दा बढी संख्यामा बिरामी आएमा उपचार कठिन हुनेछ, 'सूचना अधिकारी डाँगी भन्छन् ।
सदरमुकाम लिबाङमा रहेको नगर आइसोलेसनमा १३ जना संक्रमित छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार जिल्लामा संक्रमितको संख्या १ सय ९० पुगेको छ । संक्रमित अधिकांश होमआइसोलेसनमा छन् । संक्रमण समुदायस्तरसम्मै फैलिएकाले वैशाख २२ गतेदेखि पन्ध्र दिनका लागि निषेधाज्ञा जारी छ । समुदायमा ज्वरो आउने, टाउको दुख्ने र हाछ्यु आउनेजस्ता लक्षण देखिएका बिरामी धेरै छन् । भिटिएम र एन्टिजेन्ट टेष्ट किट अभावले संक्रमितको जाँच हुन सकिरहेको छैन् ।
कतिपयको स्वाब जाँचका लागि जिल्ला बाहिरका कोभिड अस्पताल पठाए पनि समयमा रिपोर्ट आउन सकेको छैन । गाउँ र बजार क्षेत्रमा जाँच गर्ने हो भने सोचेभन्दा धेरै संक्रमित देखिने स्वास्थ्यकर्मीको अनुमान छ ।