भारतबाट आउने घटे
विराटनगर : जोगवनी नाका भएर नेपाल आउनेको संख्या घटेको छ । एक साता अघिसम्म दैनिक एकसयको संख्यामा जोगवनी नाकाबाट मानिस नेपाल आउने गरेकोमा एक सातायता आउनेको संख्या घटेर दैनिक १० जनाको हाराहारीमा झरेको हो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार भारतमा लकडाउन सुरु भएपछि मानिस आउन कम भएको हो । नेपाल आउनेहरुको सीमा नाकामै स्वास्थ्य जाँच गरेर मात्रै आउन दिने गरिएको छ । एन्टीजेन परीक्षण गर्दा पोजिटिभ देखिएकालाई आइसोलेसनमा पठाउने गरिएको छ ।
सरकारले स्वास्थ्य जाँच गरेर मात्रै प्रदेश १ का पशुपतिनगर, काँकडभिट्टा र रानी (जोगवनी) नाकाबाट मात्रै मानिसलाई नेपाल आउन दिएको छ । भारतीयलाई भने एकीकृत भन्सार जाँच चौकी भएर जान दिने गरिएको छ भने आउने रानी नाका भएर प्रवेश गर्छन्।
संघीय सरकारले भारतमा रहेका नेपालीहरुलाई घर आउन दिन प्रदेश १ का तीन नाकासहित जम्मा १३ वटा नाका मात्र खोलेको छ । त्यसमा धनुषाको भिट्टामोड, रौतहटको गौर, पर्साको रक्सौल, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कन्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलाघाट नाका पर्दछन् ।